सिंह मारेर चुम्बनको फोटो खिच्ने ढुंगाको मुटु भएका जोडी



काठमाडौं : क्यानडाको एक जोडीले दक्षिण अफ्रिकामा सिंह मारेर त्यसको लाशपछाडि बस्दै चुम्बन गरेको फोटो खिचेको छ। अल्बर्टाको एडमोन्टनका ड्यारेन र क्यारोलीन कार्टरले लेगेलेला सफारीजद्वारा आयोजित शिकारयात्रामा भाग लिएर सिंह मारेका हुन्।

शिकार गराउने कम्पनीले मृत जनावरको फोटोसँगै शिकारीहरूको फोटो राखेर फेसबूक पेजमा अप्लोड गर्ने गरेको छ । चुम्बन गरेको फोटोमुनि उनीहरूले लेखे, ‘कालाहारीको तातो घाममा कठिन कार्य। गजबको कार्य। भयंकर ठूलो सिंह।’

यो जोडीले ट्याक्सीडर्मी अर्थात् मृत जनावरको छालामा भुस वा कपडा भरेर जीवित जस्तो देखाउने कलाको काम गर्ने गरेका छन्। उनीहरू नियमित रूपमा शिकार गरिरहेका हुन्छन् तर आफूलाई संरक्षणवादी भन्न रुचाउँछन्।

क्याम्पेन टु ब्यान ट्रफी हन्टिङ (रमाइलोका लागि गरिने शिकारमा प्रतिबन्ध अभियान) का संस्थापक एडुआर्डो गोन्साल्भेसले यस्ता सिंहहरू शिकारीले मारून् भन्नैका लागि हुर्काइने गरेको बताए।

उनले भने, ‘यो सिंह घरेलु किसिमको थियो र यसलाई घेरिएको ठाउँमा मारिएको हुनुपर्छ। यसलाई घमण्डी पाराको सेल्फी खिचाउनका लागि मात्र पाल्ने गरिएको हो। यो जोडीलाई लाज लाग्नुपर्ने हो।

यसलाई क्यामराका अगाडि देखाउने कुनै काम थिएन।’ लेगेलेला सफारीजले जिराफ, जेब्रा, चितुवा, हात्ती, गैंडा र सिंहको शिकार गराउन पैसा लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्