विश्वकप छनोट : नेपाल अष्ट्रेलिया रहेको कठिन समूहमा



काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो।

नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्। समूह ‘ए’ मा चीन, सिरिया, फिलिपन्स, माल्दिभ्स र गुआम रहेका छन्।

यसैगरी समूह ‘सी’ मा इरान, हङकङ, कम्बोडिया, इराक र बहराइन रहँदा समूह ‘डी’ मा साउदि अरेबिया, यमन, सिंगापुर, उज्बेकिस्तान र प्यालेस्टाइन छन्।

समूह ‘इ’ मा भारत, कतार, अफगानिस्तान, ओमान र बंगलादेश रहँदा समूह ‘एफ’ मा जापान, किर्गीस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलिया छन्।

समूह ‘जी’ मा मलेसिया, इन्डोनेसिया, युएई, भिएतनाम र थाइल्यान्ड रहँदा समूह ‘एच’ मा दक्षिण कोरिया, श्रीलंका, लेबनान, उत्तर कोरिया र तुर्कमेनिस्तान छन्।

No photo description available.

दोस्रो चरणको छनोट आगामी सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ। दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ।

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्। ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन्।

अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ। फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो। वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न पाएको हो। नेपालले सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो। गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो।

प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २–० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो। नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो। अब छनोटको अन्तिम चरणमा पुग्न भने नेपालले बलिया टोलीविरुद्ध खेल्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्