निजी क्षेत्रको हितमा नीति तथा कानुन ल्याउन व्यापारीको माग



जनकपुरधाम : सरकारले ल्याउन लागेको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन्।

ज्ञापन पत्रमा आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित पार्ने उल्लेख गरिएको छ।

श्रावण १ गते देखि लागू हुने गरी ल्याउन लागिएको नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गर्न नेपाल सरकारसँग माग गरिएको छ।

ज्ञापन पत्रमा संघका अध्यक्ष ललित साह र महासचिब जितेन्द्र कुमार महासेठको हस्ताक्षर गरेका छन्। त्यस्तै धनुषा चेम्बरका अध्यक्ष विजय साहको हस्ताक्षरमा १२ बुँदे मागसहितको ज्ञापन पत्र पनि बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्