लोक गायक बद्रि पंगेनीले दिए ज्यान मार्ने धम्की !



काठमाडौं : लोक तथा दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारी लगायतले ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । उजुरीमा आफुले लिनुपर्ने रकम दिनुपर्नेमा उल्टै ज्यान मार्ने धम्की आएको उजुरीमा उल्लेख छ ।

गायक पंगेनी, सिंह र अधिकारीले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगबाट लगभग ५५ लाखको काम भएको थियो । निरमायाले भने १२–१३ लाख दिएर अरु पैसा नदिएको उजुरीमा जनाइएको छ । निरमायाका विजय सिंहले पटक–पटक धम्की दिने गरेको भन्दै निमाले सुरक्षाको मागसहित निवेदन दिएको बताएका छन् ।

पैसा लिन खोज्दा विजयले ‘मलाई चिनेको छस् रु तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिने गरेको निमाले बताएका छन् । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको समेत शेयर भएकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको उनको भनाई छ ।

गायक पंगेनीले भने आफ्नो नाम मुछेर चरित्र हत्या गर्न खोजेको बताएका छन् । उक्त आरोपप्रति पंगेनीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती जारी गरेका छन् ।

निरमाया दोहोरीको निर्णायक ब्यबस्थापन आफुले नहेरेको, विगत लामो समयदेखि आफु निस्क्रिय रहँदै आएको उनको भनाई छ । उनले भनेका छन्, ‘सिंह र अधिकारीले दोहोरी साँझको जिम्मेवारी लिनुभएको छ, मैले त्यस्तो कुनै काम गरेको छु भने जस्तोसुकै कारवाही बेहोर्न तयार छु ।’ तिनवर्षअघि आफु निस्क्रिय रुपमा रहेको उनले बताए । उनले भने, ‘मिडियाले सत्य–तथ्य बुझेर मात्रै समाचार सम्पे्रषण गरिदिनुहुन अनुरोध गर्दछु, घटनाबारे के भएको रहेछ भन्ने विषयमा मैले पनि समन्वयकर्ताको भुमिकामा काम गर्नेछु ।’ कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्