उच्च अदालत तुलसीपुरमा ७५ प्रतिशत बढी मुद्दा फछ्र्योट



दाङ : उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा अदालतमा परेका मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदातलतका उपरजिष्ट्रार प्रेम खड्काले आव २०७४/७५ बाट जिम्मेवारी सरी आएका १८४ र गत आवमा दर्ता भएका ६१७ गरी कूल ८०१ थान मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गर्न सफल भएको बताए ।

एक वर्षको अवधिमा अदालतको ५५३ मुद्दा फछ्र्योट गर्ने अर्थात् ७० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ५३ थान अर्थात् ७५.६५ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको पनि उपरजिष्ट्रार खड्काले जानकारी दिए ।

अब १९५ थान मुद्दा बाँकी रहेका छन् । हाल विचाराधीन अवस्थामा रहेका मुद्दामा नौ महीनाको अवधिका १७९ थान र एक वर्षभित्रका १६ थान रहेका छन् । नागरिकलाई छिटोछरितो न्यायसम्पादनका लागि अदालतले नागरिक सहायताकक्ष, निःशुल्करूपमा निवेदन लेखिदिने व्यवस्था, अदालतको सेवालाई प्रविधिमैत्री बनाई काम गरिरहेको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए । उनले अदालतमा पर्याप्त जनशक्ति नहुँदा कार्यसम्पादनमा केही समस्या हुने गरेको पनि बताए ।

उनले थुनुवा तथा असहाय, आर्थिकरूपमा विपन्न बालबालिका, महिला आदि पक्ष भएका मुद्दामा वैतनिक कानून व्यवसायी, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि समुदायमा अदालत कार्यक्रम, न्यायाधीशसँग भेटघाट कार्यक्रम पनि नियमितरूपमा भइरहेको बताए ।   

प्रतिक्रिया दिनुहोस्