धाईआमाले शिशुमाथि गरिन् चरम दुर्व्यवहार (भिडियो)



काठमाडौं : चीनमा एक धाईआमाले आफ्नो मालिकको शिशुलाई बारम्बार दुर्व्यवहार गरेकी छन्। रजस्वला सुकेका कारण आफूले यस्तो व्यवहार गरेको उनको भनाइ छ।शुए थर भएकी घरेलु कामदारले पाँच महिने शिशुलाई बेस्सरी हल्लाएको, तन्काएको र मिल्काएको घटना भिडियोमा कैद भएको शिशुकी आमाले बताइन्।

शूएमाथि मुद्दा चलेर पुर्पक्ष हुँदा उनले आरोप स्वीकार गरिन् अनि रजस्वला सुकेपछि आफ्नो मूड खराब भएको र आफूलाई नियन्त्रण गर्न गाह्रो परेको बताइन्। चीनको दाकिङ शहरमा शिशुकी आमाले धाईआमाको दुर्व्यवहार हेरेर आफू स्तब्ध भएको बताइन्। घरमा राखिएको सीसीटीभीबाट धाईआमाको पोल खुलेको हो। 

एउटा भिडियोमा धाईआमाले शिशुलाई गोडा समातेर हावामा तुर्लुंग झुण्ड्याएको र ओछ्यानमा फालिदिएको देखिन्छ। शिशुको लिंग खुलाइएको छैन। 

‘धाईआमा खटाउने संस्थाले उनी मेहनती, प्रेमिल र सुझबुझपूर्ण महिला भएको बताएको थियो, त्यसैले हामीले उनलाई लिने निर्णय लियौं,’ आमाले भनिन्। उक्त घटनाले आफूलाई आघात पुगेको आमाको भनाइ छ। धाईआमाको यस्तो व्यवहार देखेर शिशुका मातापिताले प्रहरीलाई खबर गरेका थिए। 

चीनको फौजदारी कानूनअनुसार, आफूले स्याहार गर्नुपर्ने व्यक्तिमाथि दुर्व्यवहार गर्नेले तीन वर्षको कारावास सजाय भोग्नुपर्छ। यस मुद्दामा अदालतले फैसला सुनाउन बाँकी छ। शिशुकी आमाले धाईआमाका साथै उनलाई खटाउने एजेन्सीलाई पनि उत्तरदायी बनाउनुपर्ने माग राखेकी छन्।

प्रतिक्रिया दिनुहोस्