धनगढी बम विस्फोट : मृत्यु हुने राम सिंह विप्लवका को थिए ?



कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा भएको बम विस्फोटमा परी घाइते बझाङ घर भएका राम सिंहको मृत्यु भएको छ । 

घाइते राम सिंहको माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङको जयपृथ्वी नगरपालिका १ स्थायी घर भएका सिंह हाल कञ्चनपुरमा बस्दै आएको खुलेको छ ।  

सिंह पूर्व माओवादी लडाकुसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथै सिंह गत महिला घट्टेकुलो बम बिस्फोटमा परि ज्यान गुमाएका बझाङकै प्रज्वल शाहीका आफन्त समेत रहेका स्थानीयले बताएका छन् । वर्ष ३५ का सिंह घरबाट पहाड जाने भन्दै निस्केकाे प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

बिहीवार साँझ विस्फोटबाट सिंहको पछाडिको भागमा निकै चोट लागेको थियो । उनले झोला भिरेका थिए । त्यही झोलाभित्र रहेको बम भित्तामा अडेस लगाउदा प्रेसरले पडकिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विस्फोटमा कम्मर पछाडिको भाग गुमाएका सिंहलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भएपनि बाहिर लैजान नसकेपछि उनको मृत्यु भएको हो । घट्नास्थलमा स्टीलको टिफिनका टुक्रा भेटिएको कैलाली प्रहरी डिएसपी दक्ष बस्नेतले जानकारी दिए । बस्नेतले राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता भएको बताए । 

दुबै जनासँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेको छ । म्यागजीन भित्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेकाले डिएसपी बस्नेतले बताए ।

घट्नास्थलमा से ७ प ३१४४ नम्बरको मोटरसाईकलसमेत फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्