धनगढी बम विस्फोटको जिम्मा विप्लव समूहले लियो 



काठमाडौं : कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिएको छ । 

विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले शुक्रबार दिउँसो निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी बम विस्फोटको जिम्मा लिएको हो । 

कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको विज्ञप्तिमा लेखिएको छ । विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको र अन्य चार जना घाइते भएको स्वीकारिएको छ ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । तर, जारी विज्ञप्तिमा उनीहरुको बारेमा उल्लेख गरिएको छैन । 

‘विस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ, ‘घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

साथै, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।

बिहीबार साँझ भएको विस्फोटमा परी नेकपाका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु भएको छ भने अर्का कार्यकर्ता लक्ष्मण सेराला गम्भीर घाइते भएका छन् । उनको अझै होस खुल्न सकेको छैन ।

विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्