इलाम कफीमा पनि उत्कृष्ट जिल्ला



इलाम : इलाम चियाको राजधानी हो। यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन्। तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ। 

किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ। केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश–१ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ।

सर्वेक्षणका अनुसार प्रदेश–१ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन्। त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए।

विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ। ‘व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्यांक लिइएको छैन’, उनले भने, ‘तथ्यांक संकलनको काम ०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन्।’

प्रदेश–१ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ। त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिकरूपमा खेती गरिएको छ। प्रदेश–१ मा १ लाख ३ हजार ६६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ।

इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ। इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ। सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ।

इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ। प्रदेश–१ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन्।

पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, संखुवासभामा नौ हेक्टर, ओखलढुङ्गामा एक हेक्टर, धनकुटामा ६ हेक्टरमा कफी खेती हुने गरेको छ। सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्