प्रदेश–१ मा ५८ प्रतिशत मात्र बजेट खर्च



विराटनगर : प्रदेश–१ सरकारले ५८ प्रतिशत मात्र बजेट खर्च गरेको छ। दुई तिहाई बहुमत प्राप्त प्रदेश–१ सरकारले आर्थिक वर्ष २०७५–७६ मा कुल बजेटको आधा रकम भन्दा केही बढी मात्र खर्च गरेको हो। प्रदेश सरकारले ५८.१५ प्रतिशत मात्र बजेट खर्च गरेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालुतर्फ ९ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ र पूँजीगततर्फ ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको हो।

प्रदेश सरकारले चालुतर्फ ५७ दशमलव ७४ प्रतिशत र पूँजीगत तर्फ ५८ प्रतिशत बजेट खर्च गरेको हो। प्रदेश सरकारले पूर्ण बजेट ल्याएको पहिलो वर्षको सात महिनासम्म बजेट खर्च गर्न सकेको थिएन्। प्रदेशमा कर्मचारी अभाव र खर्च गर्ने संरचना नभएका कारण कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गरेको हो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५–७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट पारित गरेको थियो। कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत विनियोजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्