चितवनमा छ महिनामा ५४ एचआइभी सङ्क्रमित



चितवन : सन् २०१९ को छ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।

अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ सङ्क्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् । सन् २०१८ को अन्त्यमा जिल्लामा एक हजार ६८५ सङ्क्रमित थिए । सन् २०१८ मा १७ हजार ११० को परीक्षण गरिएकामा १११ नयाँ सङ्क्रमित भेटिएका थिए ।

अस्पतालमा आउने सङ्क्रमितलाई अहिले अस्पतालमै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ । केन्द्रका स्रोतव्यक्ति डा युवानिधि बस्यैलाले सङ्ख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको सङ्ख्या भने कम रहेको बताए । जिल्लामा रहेका सबै केन्द्रबाट औषधि नलिने गरेका कारण उनीहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उनको भनाइ छ ।

विशेषगरी भरतपुर अस्पतालमा आएर औषधि लिनेहरु बाहिरी जिल्लाको बढी रहेको उनले बताए। मकवानपुर, नवलपरासी धादिङलगायतका जिल्लामा रहेका सङ्क्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा बस्यौलाले बताए । 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्