ढुवानी व्यवसायीको आन्दोलनले तेश्रो दिन पनि वीरगन्ज सुनसान



वीरगन्ज : यातायात व्यवसायीको आन्दोलनले आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज विगत तीन दिनदेखि सुनसान छ। शुक्रबार तेश्रो दिन पनि वीरगन्जबाट बाहिरिने मालबाहक सवारी साधन संचालनमा छैनन्।

यातायात व्यवसायीले आ–आफ्ना मालबाहक सवारी साधन थन्काएर बुधबारदेखि सुरु गरेको आन्दोलनले वीरगन्जको आर्दशनगर पूरै सुनसान छ। साउन १ गते सरकारले लागू गरेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ को विरोधमा उनीहरूले सवारी साधन नचलाएपछि ट्रान्सपोर्ट एरिया सुनसान भएको हो।

ढुवानी व्यवसायीको आन्दोलनले वीरगन्ज भन्सार, ड्राइपोर्ट र एकीकृत चेकजाँच चौकीमा समेत ढुवानी सेवा प्रभावित भएको छ। दैनिक अर्बौका सामान ओसार पसार हुने स्थानमा अहिले एउटा रिक्सा समेत चलेको छैन्। सरकारको निर्णयले व्यवसायी नै धरापमा पर्ने भएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको यातायात व्यवसायी सन्जु छतकुलीले बताए।

राम रहिम ट्रान्सपोर्ट व्यवसायीका संचालक समेत रहेका व्यवसायी छतकुलीले सरकारले चालू आर्थिक बर्षमा ल्याएको अनुमानित बजेट पुरा गर्नको लागि आम जनतालाई दोहोरो मारमा पार्न खोजेको आरोप लगाए।

वीरगन्जबाट करिब ४० वटा खुद्रा ढुवानी व्यवसायी र करिब साढे चार सयको हाराहारीमा रहेका ढुवानी सेवाबाट देशका विभिन्न भागमा मालसामान ओसार्ने गरिएको छ। व्यवसायी तथा कर्मचारीहरूको आन्दोलनले गर्दा वीरगन्जबाट बाहिरिने मालसामान पूर्ण रुपमा ठप्प भएको छ। 

प्रतिक्रिया दिनुहोस्