काठमाडौं महानगरपालिकाले सडकबाट संकलित धूलोलाई इँटा बनाउन दिने



काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरका सडकबाट संकलन गरिएको धूलोलाई इँटा बनाउन दिने भएको छ। महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक संकलन गर्ने फोहोरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धूलो दिने योजना बनाइएको महानगरले जनाएको छ।

यान्त्रिक कुचो सुरू भएदेखि अहिलेसम्म सो धूलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो। त्यसका लागि नियमित धूलो नचाहिने हुँदा धूलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।

सडकबाट संकलन भएको धूलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ। महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धूलो संकलन गर्ने गरेका छन्। यो फोहोर अरु फोहोरमा मिसाउने नगरिएको उनको भनाइ छ।

उनले भने, ‘हामीले फोहोरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङसाइटमा लैजाने योजना बनाइरहेका छौं।’ ब्रुमरले धूलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताए।

महानगरले पनि फोहोरका कर्मचारी कम गर्दे जाने योजना बनाएको उनले बताए। अहिले महानगर आफैंले खरिद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा ब्रुमर छन्। तिनले महानगरलाई धूलोरहित बनाइरहेको उनको भनाइ छ। सडकको धूलोसँगै घरबाट सडकसम्म फोहोर आउनै नदिने योजना महानगरको छ।

प्रतिक्रिया दिनुहोस्