वीरगन्जमा लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको पुत्ला दहन 



वीरगन्ज : वीरगन्जका युवाहरूको एक समूहले लोकसेवा आयोग प्रमुख उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेका छन्।

शुक्रबार साँझ वीरगन्जको घण्टाघर चौकमा भेला भएका युवाहरूले लोकसेवा विज्ञापन समानुपातिक समावेशी नगरेको भन्दै आयोगका प्रमुख र संघीय मामिला तथा समान्य प्रशासनमन्त्रीको पुत्ला दहन गरेका हुन्।

पुत्ला दहन कार्यक्रम रोक्न प्रहरी परिचालन गरे पनि युवाहरूको समूहलाई प्रहरीले रोक्न सकेन। करिब चार दर्जन प्रहरी परिचालन गरे पनि दुई दर्जनको संख्यामा रहेका युवाहरूले आयोग प्रमुख मैनाली र मन्त्री पण्डितको पुत्ला दहन गरे। सो क्रममा प्रहरी  आन्दोलनकारीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो।

पुत्ला दहनपछि बोल्दै विरोध कार्यक्रमका अगुवा ओमप्रकाश सर्राफले प्रहरी हस्तक्षेप लोकतान्त्रिक मुल्य मान्यता विपरीत भएको र सरकारले तानाशाही प्रवृती अपनाएको भन्दै आपत्ति जनाए।

सरकार र लोकसेवा आयोगले फेरी निरंकुशता लाद्ने र एकल जातिय साम्राज्य लाद्न खोजेका कारण लोकतन्त्र र समावेशी पक्षधरलाई एकजुट हुन आग्रह गर्दै सर्राफले जनताको संवैधानिक अधिकार पनि कटौती गर्न लोकसेवा आयोग उद्दत रहेकोले अधिकार प्राप्तीका लागि आन्दोलनमा होमिन सबैलाई आग्रह गरे।

कोणसभालाई विभिन्न पार्टीका भातृ संगठनका नेताले सम्बोधन गरेका थिए। उनीहरूले लोकसेवा विज्ञापन नसच्याए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस्