‘सरकार माथिबाटै फर्कियाे, हामी जमिनको हाल बुझ्दैछौं’



सिरहा : नेपाली कांग्रेसका सभापतिसहितको टोलीले सिरहाको बाढी तथा डुबान क्षेत्रको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीले सिरहाको कर्जन्हा गाउँपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिकास्थित बाढीले अति प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

अनुगमनको क्रममा औरही गाउँपालिका २ तुलसिपुरमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारले समयमै राहत उपलब्ध नगराउँदा यस भेगका बाढी पीडित थप पीडा भोग्न बाध्य भएको बताए।

नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेर पनि बाढी पीडितका लागि आफूसहित नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय सरकारमा रहेकाहरुले आ आफ्नो तलबबाट भए पनि सहयोग गर्ने घोषणा गरेको उनले बताए।

बाढीपीडितहरुका लागि कांग्रेसका संघीय सासदले पाँच दिन र प्रदेश सांसदले १० दिनबराबरको तलब दिने घोषणा गरि सकेको जानकारी पनि देउवाले गराए।  उनले अब बस्ने प्रतिनिधिसभा बैठकमा बाढीपीडितको पुनस्र्थापना र राहतका लागि जोडदार आवाज उठाउने पनि बताए ।

उनले भने,‘सात दिनका लागि संसद स्थगित छ, संसद सुरु भएपछि हंगामा गर्छु।’ विपद् व्यवस्थापन गर्न सरकार पूर्णतः उदासीन, असंवेदनशील देखिएको उनको आरोप छ। 'विपद् व्यवस्थापनमा जुन हिसावले पूर्व तयारी हुनुपथ्र्यो त्यसमा सरकार पूर्णतः चुकेको छ,' उनले भने,‘प्रदेश २ का बाढी प्रभावित जिल्लाहरुमा राहतका लागि ढुबान पीडितहरु हारगुहार गर्दैछन । तर, सरकार माथिमाथि उडेर आनन्द लिँदै छन् ।,’

‘संघीय सरकारका मन्त्रीहरु हेलिकप्टर चढेर माथिबाटै हेरेर फर्के हामी अहिले मधेशको जिल्लामा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दैछौँ,’ देउवाले भने। बाढीबाट घर पूर्ण रुपमा गुमाएकाहरुलाई सरकारले बासको व्यवस्था गर्नुपर्ने उनले सरकारसँग माग गरे।

भारतीय बाँधका कारण पनि मधेसका बस्तीहरु डुबानमा परेका छन्, यो घटना दोहरिन नदिनको लागि सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल चलाउनुपर्ने उनको सुझाव छ। संसद सुरु भएपछि मधेसका डुबानपीडितहरुको आवास, राहतका लागि जोडदार माग राख्ने उनले बताए। नागरिक दैनकबाट ।

प्रतिक्रिया दिनुहोस्