फिल्मकर्मीले साथ दिएनन् : शिल्पा पोखरेल



निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । उनीहरूले तीन वर्षअगाडि विवाह गरेका थिए । अहिले शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् । यसै सन्दर्भमा अभिनेत्री शिल्पा पोखरेलसँग कुराकानी  :

अहिले सामाजिक सञ्जालमा तपाईंहरूको चर्चा छ नि ? 

मैले घरेलु हिंसाविरुद्ध बोलेँ । तर, उहाँ (छवि ओझा) ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा तानेजस्तो गरी बोलेर हिँडिरहनुभएको छ । अहिले म सेलेब्रिटी भएको कारणले खुलेआम बोल्न सकेकी हुँ । देशमा त कानुन छ नि । यहाँ मजस्ता कति छन्, जसको आवाज दबाइएको छ । 

अभिनेता किशोर खतिवडाको भनाइ पनि विवादमा परेको छ । उहाँले त छविजीको पक्षमा बोल्नुभयो नि ? 

किशोर दाइलाई म सम्मान गर्छु । हाम्रो बिहे भएको ६ महिनापछि उहाँ र छविजीको बोलचाल बन्द भएको हो । उहाँ आफैँले अढाई वर्षदेखि बोलचाल नभएको स्विकार्नुभएको छ । बोलचाल बन्द भएको मान्छेले हामीबीचको कुरा कसरी थाहा पाउनुभयो ? उहाँ अहिले छविजीको लहैलहैमा लागेर बोलिरहनुभएको छ । 

छविजीले त तपाईं उहाँसँग जानुभयो भने न्याय पाउनुहुन्छ भन्नुभएको छ । जानुहुन्छ ?

जाने भन्ने त कुरै हुन्न । अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भनेर हिँडिरहनुभएको छ । ५५ वर्षको बूढोले लभ गर्ने वेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि त हुन्थ्यो नि । अहिले आएर सहानुभूति पाउनका लागि किन बूढो भन्नु ? त्यतिवेलाचाहिँ किन २०–२५ वर्षको व्यवहार गर्नु ? 

तपाईंमाथि सम्पत्तिको लोभले छुट्टिन खोज्नुभएको आरोप छ नि ?

कसैले सम्पत्तिको लोभ भएको भनिरहेका छन् । ६ महिनाअघि मात्र विवाह दर्ता गरेको भनिरहेका छन् । सायद उहाँहरूलाई थाहा थिएन कि अग्नि साक्षी रोखेर बिहे गरेको मितिबाटै म उहाँकी पत्नी भइसकेकी थिएँ । बिहे दर्ता भए पनि नभए पनि परम्परागत बिहे त गरेको हो नि । त्यही मितिलाई कानुनले मान्यता दिन्छ । तर, जहाँ माया छैन, त्यहाँ सम्पत्तिले केही गर्दैन । उहाँलाई मैले त्यही दिन लात्तीले घचेटेर नहिँडेको भए अहिले बोलिरहेको पनि हुन्नथेँ होला । सायद ‘शिल्पाले आत्महत्या गरिन्’ भनेर समाचार आउँथ्यो होला । 

तपाईं फिल्म खेल्नका लागि छविसँग नजिकिनुभएको थियो ? 

म छविजीलाई फिल्म खेल्न दिनुस् भनेर गएकी होइन । उहाँले बारबार मलाई अनुरोध गर्नुभएको हो । अनि कुरा गर्न ममीलाई लिएर गएकी थिएँ । उहाँले फिल्म खेलाइरहनुहुन्छ भनेर विवाह गरेकी पनि होइन । त्योभन्दा अगाडि तीनवटा फिल्म गरिसकेकी थिएँ । मैले फिल्म पाउनलाई विवाह गर्नुपर्छ भन्ने छैन । 

किन छविजीलाई विवाह गर्न दबाब दिनुभयो त ? 

हामी एउटै परिवारमा बस्छौँ । मेरा ममी–ड्याडी विराटनगरमा फ्याक्ट्री चलाएर बस्नुहुन्छ । उहाँहरू यहाँ आएर बस्न पनि मिल्दैन । छविजीले बारम्बार ‘हिसाबकिताब गरेर गइहाल्’ भन्नुहुन्थ्यो । म त्यो घरमा जाँदा सिंगो घर मात्र थियो । म गएपछि टिभीदेखि कार्पेटसम्म सबै परिवर्तन गरेँ । सायद त्यसको हिसाबकिताब गरेर जा भन्नुभएको होला । त्यो घरमा मेरो अधिकार छैन ? मेरो घर होइन त्यो ? मलाई मेरो ममी–ड्याडीले कन्यादान दिएको हो । मेरो अधिकार छ, त्यो घरमा ।

अहिले किन अचानक घटना बाहिर ल्याउनुभयो ? 

म पीडित आइमाईको आवाज भएर बोलेकी थिएँ । त्योे कसैले हेरेन । सबै मेरो कान फुटेको छ कि छैन भन्नेतिर गए । मलाई पीडा भएर बाहिर आएँ । तीन वर्ष सहेँ त । अब अझै चुप बनेर बसूँ ? 

तपाईंले फिल्मकर्मीहरूबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

कोही पनि कसैको पक्षमा बोल्नुभएको छैन । केही समयअगाडि स्यारोन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन् । हामी पनि बोल्न डरायौँ । उहाँलाई परेको वेला कसैले साथ दिएन । मलाई पनि दिएनन् । मलाई साथ दिएनन् भनेर चुप लागेर भने बस्दिनँ ।

अबको योजना के छ ?

अहिलेसम्मका घटनाले मेरो करिअर मात्र नभएर जीवन नै ड्यामेज भयो । अब मैले कामलाई निरन्तरता दिने हो । अहिले भोजपुरी फिल्म साइन गरेकी छु । त्यसले मलाई यो पीडा भुलाउन सहयोग गर्नेछ । मलाई छविले फिल्म उद्योगमा ल्याएको हो । त्योभन्दा अगाडि पनि म केही थिएँ नि । म्युजिक भिडियोमा एकछत्र राज गरेकी थिएँ ।  नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्