कोटेश्वर–कलंकी सडकखण्ड : सम्भव होला त, हरियाली बनाउने योजना !



काठमाडौं : काठमाडौंको नयाँबानेश्वर सडकखण्ड भएर यात्रा गरिरहँदा लाग्छ नेपालमा हैन विदेशमा यात्रा गरिरहेका छौं, किनकी त्यो सडकको हरियाली, दायाँबायाँ रोपिएका हरिया बोटविरुवा र रंगविरंगिका फुलहरु। मानिसहरू सोच्छन् उपत्यकाका सबै ठाउँका सडकमा यस्तै हरियाली होस्। भनिन्छ, आट्यो भने असम्भव केहि छैन त्यसको एउटा उदाहरण हो बानेश्वर सडकखण्ड।

यता भखरै बनेका कोटेश्वर–कलंकी सडकखण्ड उजाड छ। दाँयाबाँया साना साना झाडी र फोहोरको डंगुर थुप्रिएको छ। सडक त फराकिलो भयो तर बोटबिरुवा कतै देखिँदैन । हरियो भन्ने कतै छैन, भएका रुख पनि सडक विस्तारका क्रममा काटिए। हरियाली विनाको सडकमा हेर्दा आँखा तिर्मिर हुन्छ। तर, अहिले यो उजाड सडकको दायाँबायाँ हरियाली बनाउने योजना सरकारले सुरु गरेको छ।

चीन सरकारले ५ वर्ष लगाएर कोटेश्वर–कलंकी सडकखण्ड (१०.३९ किलोमिटर) विस्तार गरेको सडकमा सबै किसिमका सवारीसाधनहरु सररर हुँइकिइरहेका छन्। तर, चक्रपथको यो खण्डमा सडकको दुवैतिर नेपालले बनाउनु पर्ने एक–एक लेन सर्भिस ट्याकको काम भने लथालिंग छ।

अहिले यही सडकखण्ड हरियाली बनाउने अभियान लिएर प्रधानमन्त्रीले केपी शर्मा ओली पनि वृक्षारोपण गर्न पुकेका थिए। वृक्षारोपण अभियानको उद्घाटन असार १४ गते प्रधानमन्त्रीले ओलीले गरे।

बिरुवा त रोपियो तर के अब यो सडकमा फर्केला त हरियाली ? यो प्रश्न अहिले सबैको मनमा छ। हामीले देखेका छौं सरकारले विरुवा रोप्छ, तर, अलपत्र छाड्छ। त्यसको रेखदेख हुँदैन। त्यो विरुवा रोपेको मतलब नै हुँदैन। बल्ल अलिअलि सरेका बिरुवा छाडा गाईबस्तु र पैदल यात्रुहरूको निमोठनामोठ पर्छन्। धेरै ठाउँमा यस्तै भएको छ र देखिन्छ पनि। तर के यो सडकखण्डमा सरकारले हुर्काउला त विरुवा ?

कोटेश्वर–कलंकी सडकखण्डमा यसरी बिरुवा रोपिएको देख्दा दंग छन् स्थानीय। कोटेश्वर बस्ने अनुप खड्का भन्छन्, ‘सरकारले सडकका दायाँबायाँ बिरुवा रोपेर एकदमै राम्रो काम गरेको छ । सरकारले चाहे नहुँने भन्ने नहुँदो रहेछ।  अब यी बिरुवा हुर्काउन सके यो सडक कति सुन्दर हुन्थ्यो।’ उपत्यकाका सबै सडकमा वृक्षारोपण गर्नुपर्ने उनी बताउँछन्।

रोपिएका विरुवा तत्कालका लागि वन तथा भू–संरक्षण विभागले संरक्षण गर्ने जनाइएको छ। चक्रपथ सडक विस्तारका क्रममा छेउछाउका सबै रुख काटिए र यसको सुन्दरता गुमेका कारण सडक क्षेत्रमा वृक्षारोपण अभियान चलाइएको वन तथा भू–संरक्षण विभागका उपनिर्देशक डा. राजेन्द्र केसीले बताए।

उनले भने, ‘सडक आसपास रोपिएका बिरुवाको संरक्षण विभागले नै गर्छ । तर, विरुवा बढेपछि सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ।’ यो सडकखण्डमा विरुवा हुर्काएर हरित सडक बनाएर सडक विभागलाई हस्तान्तरण गरिने केसीले बताए। वृक्षारोपण गरी सकेपछि त्यस क्षेत्रमा विभागले एकजना कर्मचारीको नेतृत्वमा निरीक्षणका लागि खटाइएको छ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर यो सडकखण्डमा वन तथा भू–संरक्षण विभागले २ हजार ७ सय विरुवा रोपेको थियो। सडकको दायाँबायाँ कल्की, असारे, राजवृक्ष, कपुर, नासपती, तेजपत्ता, जिन्कोलगायतका विरुवा रोपिएको छ।

प्रतिक्रिया दिनुहोस्