बुटवलमा पुगेर नेता पौडेलले भने,‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री’



रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुने बताएका छन्।

रिपोर्टस क्लब प्रदेश–५ ले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएका बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे।

तर, अहिले भने प्रधानमन्त्री परिवर्तन गर्ने कुरा नगरेको बताए। नेता पौडेलले ५ बुँदे सहमती भएको कुरा लुकाउन नपर्ने भन्दै सहमति कार्यान्वयन गर्नुुपर्नेमा जोड दिए। उनले सहमति कार्यान्वयन हुनुपर्ने भए पनि अहिले त्यो समय नआएको बताए।

‘पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन, सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ’, नेता पौडेलले भने। पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै भैनसकेको दोहोर्याए।

नेता पौडेलले मन्त्रिपरिषद हेरफेर हुनसक्ने बताउँदै तत्काल सरकार फेरिने कुनै सम्भावना नरहेको बताए। उनले केही मन्त्रालयहरू खाली रहेकाले मन्त्रीमण्डल हेरफेरलाई त्यति ठूलो विषयका रुपमा लिन नहुने बताए।

प्रतिनिधिसभाका सांसद समेत रहेका नेता पौडेलले रुपन्देहीको तिलोत्तमामा सडकको बीचमा राखिएको बुद्धको मूर्तीमा भएको तोडफोड आपराधिक काम भएको बताए।

उनले बुद्धलाई विश्वले शान्तिका दूतका रुपमा स्वीकार गरेको अवस्थामा लुम्बिनी क्षेत्रमै तोडफोड हुने कुरा आपराधिक क्रियाकलाप भएको भन्दै दोषीलाई पत्ता लगाएर कारवाही हुनुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्