मुखमा लुकाएर ब्राउन सुगर तस्करी, दुई दिनमा ३ जना पक्राउ



झापा : झापा प्रहरीले दुई दिनको अन्तरमा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। छुट्टा छुट्टै स्थानबाट सात ग्राम ब्राउन सुगर सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको हो।

आइतबार झापाको मेचिनगर नगरपालिका–६ भन्सार गेट अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन्। दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे१०प १६८७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–४ केर्खाका ३१ वर्षीय मोहन सुबेदी र मोटरसाइकलको पछाडी सवार सोही गाउँपालिका–३ का २८ वर्षीय युवराज गुरुङ छन्। गुरुङले मुखमा लुकाएर ३ ग्राम ब्राउन सुगर ल्याएका थिए। प्रहरीले मुख चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो।

लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–३ चकचकीका २८ बर्षीय मोहमद रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राती साढे ९ बजे रियाजलाई ४.५० ग्राम ब्राउनसुगर सहित बिर्तामोडबाट पक्राउ गरेको हो। लागुऔषध सहित पक्राउ परेका रियाजलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्