बालुवाटार जग्गा प्रकरण : विमानस्थलमा गच्छदारले भने, ‘म छानबिनबाट भाग्दिनँ’



काठमाडौं : नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा सरोकारवाला निकायले गर्ने छानबिनमा आफूले सघाउने बताएका छन् । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले छानबिन निकायलाई सघाउने बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जग्गा प्रकरणमा आफ्नो नाम अनावश्यक रूपमा मुछिएको बताए । ‘बालुवाटारको जग्गा भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयसँग जोडिएको विषय हो, म त्यतिबेला भौतिक आवासमन्त्री थिएँ’, उनले भने, ‘मैले मन्त्रिपरिषदमा प्रस्ताव पेस मात्र गरेको हुँ । यो जग्गाको विषय मेरो मन्त्रालयसँग जोडिँदैन ।’

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयानका लागि अहिलेसम्म कुनै सम्पर्क नराखेको उल्लेख गर्दै आवश्यक परे सघाउन तत्पर रहेको बताए । ‘कुनै पनि सरोकारवाला निकायले छानबिनका लागि मलाई बोलाए म सहयोग गर्छु’, उनले भने, ‘तर अहिलेसम्म कसैले पनि मलाई यसबारे बुझ्नसमेत सम्पर्क गरेको छैन । म छानबिनबाट भाग्दिनँ ।’

विभिन्न सञ्चारमाध्यमले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । गच्छदार आँखाको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । चिकित्सकले तीन महिनापछि शल्यक्रियाका लागि बोलाएको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट 

 

प्रतिक्रिया दिनुहोस्