यसवर्ष विपदबाट १९५ जनाको मृत्यु



काठमाडौं : यसवर्ष विपदबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए।

उनले तराईका केही जिल्लाबाट अझै विवरण आई नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताए। प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेकलागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारीवर्षाबाट सात, सर्पदङ्श छ, हवाई दुर्घटनाबाट तीन जना र अन्य तीन जनाको मृत्यु भएको बताए।

विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका छन्। बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना छन्। घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट दश, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारीवर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ।

गृहमन्त्रालयका अनुसार ती घटनामा करीब रु दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ। यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन्।

विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रूपमा क्षति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्