भतिजी बलात्कारको आरोपमा २२ वर्षीय काका पक्राउ



सोलुखुम्बु : १४ वर्षीया भतिजीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएकी बालिकालाई आफ्नै काकाले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको हो।

६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ। भतिजीलाई उनले वर्षाैंदेखि पटक–पटक बलात्कार गरेको प्रहरीले बताएको छ। ती युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन्।

पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।  

प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्