परीक्षा केन्द्र परिवर्तनपछि प्रहरी र विद्यार्थीबीच झडप , पाँच जना विद्यार्थी पक्राउ



जनकपुर: स्नातक तहको परीक्षाको केन्द्र परिवर्तन भएपछि जनकपुरमा तनाव सिर्जना भएको छ । परीक्षार्थीलाई जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी संग सामान्य झडप भएको थियो ।

प्रदर्शनमा उत्रेका ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादव सहित अन्य दुई जना रहेका छन् । परिक्षार्थीलाई जानकारी नदिई विविएस तहको दोस्रो वर्षको परीक्षा केन्द्र परिवर्तन  भएपछि  प्रदर्शन गरेको विद्यार्थी नेता आशुतोष झा नवीनले बताए ।

जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा परीक्षार्थीको चाप बढी भएपछि थप व्यवस्थित बनाउन केन्द्र परिवर्तन गर्नुपरेको सह परीक्षा नियन्त्रक अखिलेश कुमार सिंहले द नेपाल टपलाई जानकारी दिए । सात सय क्षमता रहेको राराव क्याम्पसमा १२ सय परीक्षार्थी भएपछि सहजताकालागि  अन्य क्याम्पसहरूमा केन्द्र सारिएको उनको भनाई छ ।

उनले यसबारे सम्पूर्ण क्याम्पसहरूमा जानकारी गराइएको समेत दाबी गरे । यता विद्यार्थीहरूले भने परीक्षा केन्द्र परिवर्तन भएको बारे आफूहरूलाई जानकारी नभएको भन्दै परीक्षा बहिष्कार गरी नाराबाजीमा उत्रिएका छन् ।

महोत्तरीको बर्दीवासका दुई , जलेस्वरको एक  र  धनुषाको दुई ओटा निजी कलेजको परीक्षा केन्द्र राम स्वरूप राम सागर बहुमुखी क्याम्पसलाई तोकिएको थियो । तर व्यवस्थापनमा कठिनाइ भएपछि अन्य क्याम्पसमा केन्द्र सारिएको हो ।  

 

प्रतिक्रिया दिनुहोस्