पाँच वर्षसम्म सरकार परिवर्तन हुँदैन : सञ्चारमन्त्री बास्कोटा



जनकपुरधाम : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकार पाँच वर्षसम्म परिवर्तन नहुने बताएका छन् । 

नेपाल पात्रकार महासंघ धनुषाको कार्यालयमा मंगलबार आयोजित पत्रकार भेटघाटको क्रममा सञ्चारकर्मीलाई सम्बोधन गर्दै मन्त्री बसकोटाले अब पाँच वर्षसम्म सरकार परिवर्तन नहुने बताएका हुन्  । 

पत्रकारसँगको भेटमा वर्तमान सरकार प्रगति, सामाजिक न्याय र अग्रगतिलाई विशेष मुद्दा बनाइसकेका कारण अबको पाँच वर्षसम्म सरकारले विकासलाई मै मुख्य केन्द्र बनाएर अघि बढ्ने स्पष्ट पारे । 

मन्त्री बास्कोटा स्मार्ट विद्यालयको उद्घाटन गर्न सोमबार जनकपुुर पुगेका थिए । 

यो सरकार स्थायी सरकार रहेको जिकिर गर्दै उनले चुनाव पनि नहुने ठोकुवा गरेका छन् ।

उनले संघ, प्रदेश र स्थानिय सरकारले चुनावमा गरेको वाचा अब पूरा गर्नुपर्ने जिकिर गर्दै प्रदेशले आफ्नो अधिकार क्षेत्र भित्र बसेर काम गर्न सुझाव दिए ।

सञ्चारमन्त्री बास्कोटाले भने, ‘कसको के अधिकार छ त्यो सबै संविधानमा स्पष्ट व्यवस्था गरिएको छ ।’

साथै उनले प्रदेश सरकारलाई एक स्टेप अगाडि बढेर काम नगर्न सुझाव समेत सुझाव दिए । हरेक निकायले हरेक निकायलाई ’डेलिभरी’ खोज्ने बाध्य बनाउनु पर्ने बेला आएको पनि बास्कोटाको भनाइ छ । 

पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेटघाटमा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री बास्कोटाले जनताको इच्छा र सरकारको कामबारे निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिए ।

उनले सञ्चारकर्मीलाई पूर्वाग्रही भएर कलम नचलाउन आग्रह गर्दै भने, ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस् । तर, तथ्यपरक हिसाबले ।’

सञ्चार मन्त्री बास्कोटाले श्रम, उत्पादन, रोजगारी, कृषिलगाययत सबै क्षेत्रमा गति र मानक पैदा गर्नुपर्ने बेला आएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको समेत बताए । 

 

प्रतिक्रिया दिनुहोस्