धादिङ बस दुर्घटना : घाइतेको अवस्था बुझ्न सांसद रामेश्व राय यादव ट्रमा सेन्टरमा 



काठमाडौं : सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने घाइते १४ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । 

घाइते १४ जनाको अवस्था बुझ्न सर्लाही क्षेत्र नं. ३ का सांसद रामेश्व राय यादव ट्रमा सेन्टर पुगेका छन् । उनले घाइतेहरुको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

१६ जनाको सकुशल उद्दार गरिएको छ भने २० जनाभन्दा बढी यात्रु अझ वेपत्ता भएको प्रहरीले जनाएको छ । 

साथै घाइते १४ जनाको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जानकारी दिएका छन् । घाइते १४ सबैको ट्रमा सेन्टरमा उपचार भइहरको छ । 

यसैगरी दुघटनामा मृत्यु हुनेमा सर्लाहीको ब्रमपुरी गाउँपालिका ४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन् । उनीहरू एकै परिवारका रहेको प्रहरीको भनाइ छ । एक जनाको सनाखत हुन सकेको छैन ।

प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजे त्रिशुली नदिमा खसेको थियो । नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।  अप्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक बैदवारले बताए ।

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ । बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि कति यात्रु थिए भन्ने यकिन भने भइनसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्