जसले ६९ वर्षको उमेरमा पत्रकारिता सुरु गरे



सुखिपुर (सिरहा) : उनको तल्लो पट्टिको तीन ओटा मात्र दाँत बाँकी छन्, त्यै पनि सबै हल्लिएका। मास्तिर पट्टि पाँच ओटा दाँत बाँकी छन् , ती भने सद्दे नै छन्। उनी यो वैशाखबाट ६९ वसन्तमा लागे। गाउँका धेरैले नाना ( हजुर बुवा ) भनेर बोलाउँछन् । उमेरले नेटो काटिसकेका यी वृद्ध अझै पनि समाजमा उज्यालो छर्न चाहन्छन् , समाज र सरकारलाई झकझक्याउन चाहन्छन्।

विकृति विसङ्गति विरुद्ध आवाज बुलन्द गर्न चाहन्छन्। त्यसैले एक वर्ष अघिबाट उनले पत्रकारिता सुरु गरेका छन्। हो ,सिरहाको सुखिपुर नगरपालिका ८ का हरिपतिलाल कर्णले बुढेसकालमा एक वर्ष अघिबाट प्रकाशन सुरु गरेको मिथिला आवाज साप्ताहिकले सुखिपुरमा चेतनाको दियो बालिरहेको छ यति बेला।

हरिपतिलाल मिथिला आवाज साप्ताहिकका प्रकाशक / सम्पादक हुन। प्रकाशक भए पनि समाचार सकंलन आफै गर्छन्। ल्यापटपमा समाचार टाइप र लेआउट पनि आफै गर्छन् ।  उनको घरमा वाईफाई जडान गरिएको छ। चौबिसै घण्टा सामाजिक सञ्जालसँग जोडिईरहेका हुन्छन् । 

उनकाे पत्रिका लहानमा छापिन्छ । हरेक आइतबार प्रकाशन हुने मिथिला आवाज सुखिपुर बजार र आसपासको गाउँमा साइकल चढेर आफैले बाँड्छन् । अर्थात् पत्रिका बाँड्ने हकर पनि उनी आफै हुन् । भन्छन् , हप्तामा एक पटक साईकिलिगं गर्दा पनि अर्कै फुर्ती पैदा हुन्छ , पत्रिका बाँड्न निस्केका बेला सवैसगं हाई हेल्लो पनि हुन्छ ।

पकेट खर्चले पत्रिका

पत्रिका निकाल्ने भन्दा अरु काम छैन अहिले उनको । निजी स्रोतको तलबमा खाने गरी स्थानीय श्री जनता माध्यामिक विद्यालयको लेखापाल जागिर छाडेर बसेका उनलाई छोराहरूले दिएको पकेट मनि बाट पत्रिका निकालिरहेका छन् । उनका दुई भाइ छोरा छन् । जेठा छोरा उनी लेखापाल रहेको जनता मावि सुखिपुरमा शिक्षक छन् । कान्छो छोरा भारतको अहमदवादमा प्रँईवेट अस्पतालमा काम गर्छन् । जेठोले मासिक ४ हजार दिन्छन् भने कान्छाले ३ हजार । छोराहरूले दिएको पकेट खर्च मध्ये साँढे पाँच हजार त पत्रिका निकाल्न खर्च हुन्छ मासिक , हरिपतिलालले भने , पत्रिकाको आम्दानी शून्य छ । 

सुखिपुर बजार मधेसका बजार मध्ये धेरै पुरानो बजार मानिन्छ । यो बजारमा उनको साप्ताहिक पत्रिका चर्चित पनि छ । तर विज्ञापन भने कसैले नदिएकोमा उनको चित दुखाई छ । अरु त अरु नै भईहाले सुखिपुर नगरपालिकाले समेत विज्ञापन नदिएको गुनासो गरे उनले । भने , 'कमसे कम नगरपालिकाले मासिक रूपमा विज्ञापन दिए पत्रिका निकाल्न सहज हुने थियो ।'

उनी जागिरे हुँदै पत्रकारितामा लागेका आफ्ना नाति पत्रकार रोयण्टर मण्डलको आग्रहमा पत्रकारितामा चासो राख्न थाले । राजनीतिमा समेत चासो राख्ने उनी कवि समेत हुन् । सुखिपुरमा आयोजना हुने धेरै साहित्यिक कार्यक्रमहरूमा उनले कविता समेत वाचन गरेका छन् । रेडियो नेपालबाट प्रसारण हुने धेरै साहित्यिक कार्यक्रमहरूमा उनको कविता वाचन भएको सुनाउँछन् उनी।

कम्युनिस्ट राजनीतिबाट प्रभावित उनी स्थानीय निकायका जनप्रतिनिधिका कारण कम्युनिस्ट सरकार बदनाम भइरहेको आकलन उनको छ । आफ्नो पत्रिकाबाट स्थानीय जनप्रतिनिधिहरूलाई झकझक्याई रहेका उनी भन्छन् , नेपालमा कम्युनिस्टको भविष्य कम्युनिस्ट सरकारकै हातमा छ, 'यति बेला पनि काम गर्न सकेनन् भने कम्युनिष्टहरुले अर्को पटक जित्ने कल्पना नगरे पनि हुन्छ ।'

  

प्रतिक्रिया दिनुहोस्