कलंकी मालपोतका पूर्वकर्मचारीद्वारा आत्महत्या, अख्तियार प्रमुखको नाममा सुसाइड नोट



उदयपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाम दुई पानाको सुसाइड नोट लेखी एकजना पूर्वकर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाल आचार्यले अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखी आत्महत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार उनले झुण्डिएर आत्महत्या गरेका हुन् । 

‘हामी सुसाइड नोटको फोटो खिच्न दिदैनौं’ उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म ठूलो भ्रष्टचारी होइन्’ भन्ने सुसाइड नोट फेला परेको छ ।’

मालपोत कार्यालय कलंकीमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए । झापाबाट मालपोत कार्यालय कलंकी हुँदै उनी समायोजनमा त्रियुगा नगरपालिका आर्चाय आइपुगेका थिए । 

त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रुपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग विवाद भएपछि राजीनामा दिएका थिए । 

मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित ७ जनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

यस्तो छ सुसाइट नोट  

‘सुसाइड नोट मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् । तर, पारिवारिक वातावरण मिलाउन सकिनँ । कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो । गल्ती स्वीकार गरी नेपाल सरकार बताइसकेको थिए । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म विदा भएँ । खातामा पैसा छ । श्रीमती केही जान्दिनँ । साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु । कान्छो छोराको व्याचलर सकुला भनेको थिएँ, सकिनँ, पापी भएँ । वाणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ । अन्यमा पैसा भए पनि कमै छ’ सुसाइट नोटमा लेखिएको छ । 

‘वीरेन्द्र काका लगायत छिमेकीले भैंसी , खसी तह लगाइदिनु । आमा साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु । सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टचारी भएँ। प्रहरीका अनुसार मृतक आर्चायको सुसाइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारकाभ प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस। म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु। सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु’ उनले लेखेका छन, ‘गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु ।’ नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्ष समेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला ।’

आचार्यले अन्तमा आफन्तले भैंसी, खसी जतिमा हुन्छ, त्यतिमा बिक्री गरी सहयोग गरिदिनु आग्रह गर्दछु । 

उनले २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिर निस्किएका थिए । 

प्रतिक्रिया दिनुहोस्