तनहुँमा सवारी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते



तनहुँ : जिल्लामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छिन्। घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१-००१-य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्