रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप 



चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । प्रदर्शनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि झडप भएको हो ।

केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रवि लामिछानेको रिहाइको माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन् ।  शालिकराम आत्महत्या प्रकरणमा पक्राउ परेका रविलाई तत्काल रिहाइ गरिनुपर्ने उनीहरूको माग छ ।

प्रदर्शनकारीले प्रहरीको गाडी तोडफोड गर्ने तथा उग्र नाराबाजी गर्न थालेपछि  जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । तर प्रदर्शनकारीहरूले निषेधित क्षेत्र अवज्ञा गर्दै आज पनि प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

गत साउन २० गते आत्महत्या गरेका शालिकराम पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई भोलि पनि अदालत उपस्थित गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्