सञ्चारमन्त्री गोकुल बाँस्कोटाकै पत्रिका बन्द !



काठमाडौं : बेलाबेलामा चर्चा र विवादमा आइरहने सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिक २ वर्ष यता बन्द छ । हरेक शुक्रबार प्रकाशन हुँदै आएको सम्बोधन प्रेस काउन्सिलको वर्गिकरणमा क्षेत्रिय ‘क’ मा थियो ।

लामो समय दृष्टि साप्ताहिकमा कार्यकारी सम्पादकको रुपमा काम गरेका  बाँस्कोटाले २०६० सालबाट सम्बोधन साप्ताहिक प्रकाशन सुरु गरेका थिए । सम्बोधनको सम्पादक पनि उनि आफैँ थिए । हरेक शुक्रबार प्रकाशन हुँदै आएको सम्बोधन बाँस्कोटा सञ्चारमन्त्री बनेपछि बन्द भएको हो । सञ्चारमन्त्री बनेपछि कानुनी रुपमा पत्रिका प्रकाशसन गर्न नपाइने प्रावधान भएकाले सम्बोधन बन्द गरिएको बताइन्छ । 

सम्बोधनको आफ्नै कथा

२०५४ सालमा झापाका पत्रकार हेम पाठकले सम्बोधन साप्ताहिक दर्ता गरेका थिए । त्यसबेला सम्बोधनको कार्यकारी सम्पादक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले थिए । २०६० सालमा ५ लाख रुपैयाँमा हेम पाठकसँग बाँस्कोटाले सम्बोधन किनेका थिए । रामचन्द्र राना र गोकुल बाँस्कोटाको संयुक्त नाममा पत्रिका दर्ता छ । 

पुतलिसडकस्थित न्युप्लाजामा सम्बोधनको कार्यलय राखेका थिए बाँस्कोटाले । त्यसबेला बिवश बस्ति, राजेन्द्र अर्याल, अरुण बराल,  रामशरण बजगाईँ, राम बहादुर रावल लगायतले सम्बोधनमा अदृष्य रुपमा समाचार लेख्थे, कार्टुनिष्ट रवि मिश्रले कार्टुन बनाउँथे । सम्बोधन ५ हजार प्रतिसम्म छापिन्थ्यो । पत्रिकाको बजार देशैभरी विस्तार गरिएको थियो । पत्रिकाको बजार व्यवस्थापनको जिम्मा विजय सिंहले सम्हालेका थिए ।

पत्रकारिता र राजनीतिलाई सँगै अगाडि बढाएका बाँस्कोटा २०६६ सालमा नेकपा ( एमाले) को काभ्रे जिल्ला सचिव बनेपछि पत्रिकालाई समय दिन भ्याएनन् । त्यसपछि काभ्रेकै विकास गिरीलाई सम्बोधनको कार्यकारी सम्पादक बनाए र उनैलाई पत्रिका जिम्मा लगाएका थिए बाँस्कोटाले । गिरीले ७ वर्षसम्म सम्बोधनको कमाण्ड सम्हाले । अध्ययनको सिलसिलमा गिरी चीन गएपछि पत्रकार चेतन अधिकारीले सम्बोधन सम्हालेका थिए । अधिकारी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक छन् ।  

संवाददाता हुँदै सम्पादक 

राजनीति र पत्रकारितालाई सँगै अगाडी बढाएका बाँस्कोटा कुनै बेला दृष्टि साप्ताहिकको काभ्रे जिल्ला संवाददाता थिए । नारायण ढकाल सम्पदक रहेको दृष्टि साप्ताहिक त्यतिबेला लोकप्रिय साप्ताहिक पत्रिका थियो ।

मदन भण्डारीले नेतृत्व गरेको नेकपा माले निकट मानिने दृष्टि साप्ताहिक त्यतिबेलाका नाम चलेका पत्रकारहरुको संलग्नता थियो । मंगलबार प्रकाशन हुने दृष्टि साप्ताहिकको सम्पादक नारायण ढकाल थिए । अग्नि शिखा, किशोर श्रेष्ठ, राजेन्द्र स्थापित लगायतका पत्रकार दृष्टिको सम्पादक मण्डलमा थिए । 

रघु पन्त, कुन्दन अर्याल लगायतको टिमले पनि दृष्टि करिब एक वर्ष चलाएको थिए । विचारमा मतभेद भएपछि किशोर श्रेष्ठको टिमले दृष्टिसँग सम्बन्ध विच्छेद गरेर जनआस्था साप्ताहिक प्रकाशन सुरु गर्यो भने रघु पन्त र कुन्द अर्यालहरुको टिमले पनिपछि आएर बुधबार साप्ताहिक सुरु प्रकाशन सुरु गर्यो । त्यसपछि बाँस्कोटा दृष्टि साप्ताहिकको कार्यकारी सम्पादक बनेका थिए । 

एक बेलाका सक्रिय पत्रकार बाँस्कोटा छापा पत्रकारितामा मात्रै होइन्, कुनैबेला रेडियो पत्रकारिता पनि गर्थे । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रीकालमा बाँस्कोटाले केही समय रेडियो नेपालमा घटना र विचार कार्यक्रम पनि चलाएका थिए । घटना र विचार रेडियो नेपालको लोकप्रियमध्येको एक कार्यक्रम हो ।  

बाँस्कोटा तत्कालिन नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालको संस्थापक सचिव हुन् भने नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत निर्वाचित भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्