आफैंले पालेको सिंहले लियो ज्यान



एजेन्सी : चेक गणतन्त्रका एक व्यक्ति आफैंले पालेको सिंहको शिकार बनेका छन्। ३३ वर्षीय माइकल प्रासेसलाई उनले नै पालेका दुई सिंहले आक्रमण गरेर मारेका हुन्। आफ्नो मालिकको ज्यान लिने दुवै सिंहलाई प्रहरीले गोली हानेर मारेको छ।

प्रशासनसँग लडेर घरमा पालिरहेको  सिंहले ज्यान लिन्छ भन्ने सायद माइकलले सोचेका पनि थिएनन् होला। तर, माइकलको शव खोरभित्र फेला पर्‍यो जहाँ उनले प्यारपूर्वक सिंहलाई पालेर राख्दै आएका थिए।

उनले सन् २०१६ देखि आफ्नो घरको पछाडि खोर बनाएर त्यहाँ सिंहलाई राखेका थिए। त्यतिबेला सिंह नौ वर्षको थियो। त्यसपछि प्रजननका लागि उनले अर्को एक सिंहिनीलाई पनि घरमा ल्याएर पाले।

त्यसपछि उनका छिमेकीहरुले उनको यो काममा आपत्ती जनाए। उनीहरुलाई सिंह र सिंहिनीले मानवीय क्षति पुर्‍याउने डर थियो। प्रशासनले पनि उनलाई सिंह पाल्न अनुमति दिएको थिएन। तर, यी सबै कुरालाई बेवास्ता गर्दै माइकलले जिडिशोफ भन्ने गाउँको आफ्नो घरमा सिंहलाई पालेर राखिरहे ।

स्थानीय प्रशासनसँग उनले सिंहलाई पालेर राख्ने खोर बनाउन अनुमति मागेका थिए। त्यसलाई प्रशासनले अस्वीकार गरेको थियो। पछि उनलाई अवैध प्रजननको आरोपमा जरिवाना समेत गरियो। तर यी जनावरहरुलाई राख्ने वैकल्पिक व्यवस्था नभएको र जनावरलाई दुःख दिएको प्रमाण नभेटिएको भन्दै प्रशासनले माइकलको घरबाट सिंहहरु हटाउन भने सकेन।

यसरी उनले सिंहलाई राख्ने अनुमति मिल्यो। एक दिन उनी गर्मी महिनामा आफ्नो सिंहलाई लिएर घर बाहिर निस्किए र त्यो सिंहसँग एक साइकल यात्री ठोक्किए। त्यसपछि फेरि माइकल चर्चामा आए । यसको उजुरी प्रहरीमा समेत पर्‍यो तर यसलाई सडक दुर्घटनाको रुपमा लिइयो।

सिंहले माइकललाई मारेको घटनाको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले सिंह, सिंहिनी दुवैलाई मारिदिएका छन्। प्रहरीका अनुसार माइकलको शव बाहिर निकाल्न उनीहरुलाई मार्न जरुरी थियो।

प्रतिक्रिया दिनुहोस्