पाथीभरा गोल्डकप : गोर्खा स्पोर्टिङ क्लबलाई हराउँदै रेड स्टार सेमिफाइनलमा



ताप्लेजुङ : रेड स्टार क्लब झापा ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाकै गोर्खा स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गर्दै रेड स्टार अन्तिम चारमा प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले राष्ट्रिय टिमका खेलाडीलाई मैदान उतारेका थिए। रेड स्टारको जितमा खेलको ५१औँ मिनेटमा योगेश गुरुङले गरेको गोल निर्णायक बन्यो।

गोर्खा स्पोर्टिङबाट ३ जना विदेशी खेलाडीसहित थ्रीस्टार क्लबका पूर्ण चेम्जोङ, विजय धिमाल र अशोक खवास तथा मनाङ मर्स्याङ्दीका सुरज विके र दिपक राई खेलेका थिए। तर, उनीहरूले गोल गर्न नसक्दा गोर्खा स्पोर्टिङ पराजित हुन पुग्यो।

यता रेड स्टारमा विवश चौधरी, दिवश उराउ, निशान लिम्बूलगायतका चर्चिच खेलाडी थिए। खेलको ‘म्यान अफ दि म्याच’ रेड स्टारका गोलकिपर विवश चौधरी घोषित भए। उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे। प्रतियोगितामा बुधबारबाट सेमिफाइनलका खेल सुरु हुनेछन्।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन्। प्रतियोगिताको विजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफी प्रदान गरिने छ। उपविजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिता भदौ ६ गते सकिने छ।

प्रतिक्रिया दिनुहोस्