पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले भने,‘सायद अर्को वर्ष सन्यास लिन्छु’



काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष सन्यास लिन सक्ने बताएका छन्। मंगलबार टिभीआईसँगको कुराकानीमा इटालियन क्लब युभेन्टसका स्ट्राइकर समेत रहेका रोनाल्डोले अर्काे वर्ष संन्यास नलिए ४० वर्षसम्म खेल्ने बताए।

रोनाल्डो अहिले ३४ वर्षका भए। रोनाल्डो पाँच पटकका बालोन डी‘ओर विजेता समेत हुन्। रोनाल्डोले फुटबल जीवनमा व्यक्तिगत रुपमा सबै प्रकारका अवार्ड जितिसकेका छन्।  

रोनाल्डोले रियल मड्रिडलाई ४ च्याम्पियन लिग र २ ला लिगा ट्रफी तथा म्यानचेस्टर युनाइटेडलाई १ च्याम्पियन लिग र ३ प्रिमियर लिग जिताएका छन्। त्यस्तै उनले आफ्नो राष्ट्र पोर्चुगललाई २ वटा ट्रफी दिलाएका छन् भने पाँच पटक च्याम्पियन्स लिग जितेका छन्।

युभेन्टसबाट उनले ४३ खेलमा २८ गोल गर्दै सिरी ‘ए’ र सुपरकोपा इटालियाको उपाधि दिलाएका छन्। उनै रोनाल्डोले अब आउँदो वर्ष नै सन्यास लिने बताएका हुन्।

रोनाल्डोले भने, ‘सायद, म अर्को वर्ष सन्यास लिन्छु। तर, यो निश्चित छैन। अर्को वर्ष सन्यास नलिए म ४०–४१ वर्षसम्म पनि खेल्न सक्छु।’ उनले आफूले फुटबलबाट आनन्द लिइरहेको पनि बताए।

उनले भने, ‘मलाई थाहा छैन, मैले के भनिरहेको छु तर मैले पूर्णरुपमा आनन्द उठाइरहेको छु। मलाई यो आनन्दपनमा निरन्तरता दिनु छ, अझै आनन्द लिनुछ।’

प्रतिक्रिया दिनुहोस्