भारतीय विदेश मन्त्री काठमाडौं आएसँगै रक्सौलमा विरोध प्रदर्शन 



वीरगञ्ज : भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आएसँगै  सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ ।  

भारतीय सवारी साधन नेपाल प्रवेशमा इन्ट्रीको नाममा स्थानिय प्रशासनले अनावश्यक झमेला निकाली दुःख दिएको भन्दै भारतीय नागरिक आन्दोलित भएका छन् । 

काठमाडौंमा आजदेखि दुई दिन चल्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आइपुगेका छन् । 

सिमावर्ती शहर भारत–रक्सौलका स्थानियवासीले नेपाल नेपाल भारतको मितेरी पुलस्थित भारतीय कस्टम अगाडि नेपाल सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरुले नेपाली नम्बरको सवारी साधन भारतमा प्रवेशमा रोक समेत लगाएका छन् । 

भारतीय स्थानियवासीहरुले बीच सडकमै एम्बुलेन्स तेस्याएर विरोध प्रदर्शनमा उत्रेका हुन । प्रदर्शनमा उत्रेका स्थानियलाई भारतीय कस्टमका अधिकारीहरुले सम्झाउने बुझाउने प्रयास गरेपनि नेपाली प्रशासन इन्ट्रीको नाममा भारतीयमाथि गर्ने गरेको ज्यादती बन्द नभएसम्म आन्दोलन जारी नै रहने स्थानिय श्याम गुप्ताले बताए ।

योसँगै भारत जान हिँडेको नेपाली सवारी साधान भारतीय कस्टमबाट फर्काएको थियो । प्रदर्शनकारीले पेट्रोलिय पदार्थ ढुवानी गर्न पुगेका नेपाली ट्याकरहरु बीच सडकमै अलपत्रमा परेका छन् । 

‘समस्या समाधान नभएसम्म नेपाली सवारी साधन भारतमा प्रवेश गर्न दिँदैनौ,’ गुप्ताले भने, ‘भारत सरकारले नेपाली सवारी साधन भारतमा निर्धक रुपमा सञ्चालन गर्न दिएको तर नेपाली प्रशासनले किन हामीसँग पशु सरह व्यवहार गर्छन् ।’ 

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, स्थानिय प्रशासनको मुर्दावादको नारा लगाएर प्रदर्शन गरेका छन् । 

वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा राखिएको भारतीय सवारी साधनहरुको इन्ट्रीमा दिन प्रतिदिन थप नयाँ–नयाँ नियम ल्याएर भारतीयहरुलाई दुःख दिने काम भएको भारतीयले आरोप लगाएका छन् ।

‘वीरगञ्ज बजारमा काम विशेषले घरबाट निस्कन छौं, अफिस पुग्नु २ घण्टा अगाडी नै घरबाट निस्कन्छौ तर इन्ट्रीको नाममा चार–चार घण्टा लाइनमा बस्न बाध्य बनाइन्छ, बढी भिर हुँदा भन्सार एरियामा गाडी छाडेर अटोरिक्सामा बसी वीरगञ्ज बजारमा जान्छौ बेलुका फर्कदा शंकराचार्य गेटमा प्रहरीले इन्ट्री कै बहानामा जबरजस्ती रकम असुल्ने गरिन्छ’ उनले भने ।  

अनावश्यक झमेला खडा गरेर समाजिक सद्भाव विगार्न नेपालमा केही व्यक्तिहरुले प्रयास गरी रहेको रक्सौलका समाजसेवी महेश अग्रवालको भनाइ छ । 

सदियौंदेखि दुवै देशको सवारी साधन निर्धक रुपमा आवत जावत गरेका छन् तर केहि व्यक्तिले विगत महिनादेखि इन्ट्रीको नाममा भारतीयलाई दुःख दिने मनसायले अनावश्यक झमेला खडा गरेर दुई देशको सद्भाव विगार्ने प्रयास गरेको आरोप लगाए । 

नेपाल भारतको सम्बन्ध आर्थिक मात्र नभइ रोटीबेटीको सम्बन्ध समेत रहेको बताउँदै अग्रवालले भने, नेपालमा बसेका केही तत्वहरुले विगार्ने प्रयास गर्दै छन् तर उनीहरुको यो प्रयास हामी असफल हुन दिँदैनै ।’

प्रतिक्रिया दिनुहोस्