एभिसी सेन्ट्रल जोन भलिबल : लगातार दोस्रो हारसँगै नेपाल बाहिरियो



काठमाडौं : लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा माल्दिभ्सले नेपाललाई २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित गर्यो।

माल्दिभ्ससँगको हारसँगै समूह ‘ए’ बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अंक जोड्न सकेन। नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पनि ३–० को सोझो सेटमै पराजित भएको थियो।

अब नेपालले पाँचौ स्थानको लागि समूह ‘बी’ को तेस्रो हुने टोलीसँग खेल्नेछ। माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेता उज्वेकिस्तानसँग खेल्नेछ।

यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अंक जोडेर समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्