विश्वविद्यालयमा उपकुलपती बन्ने दौडधुपमा को–को ?



काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यकाल आज (बिहीबार)बाट सकिँदै छ भने सात वटै विश्वविद्यालयहरुमा उपकुलपति र रजिष्टार पद रिक्त हुने भएको छ । 

उपकुलपतिको पद रिक्त भएसँगै पदाधिकारीहरुको सिफारीस गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सर्च कमिटी गठन गरिएको छ । 

यसको सिफारिसमा कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति लगायत पदाधिकारी नियुक्ति गर्ने कानुनी व्यवस्था छ । तर, सर्च कमिटीले अहिलेसम्म भावी उपकुलपतिको नाम प्रस्ताव गर्न सकेको छैन । 

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको नाम प्रस्ताव गर्न शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा डिल्लीराज शर्मा र कमल गुरागाईं सदस्य रहेको कमिटी गठन गरेका थिए । 

तर, पहिलोपटक दिएको समयमा कमिटीले काम गर्न नसकेपछि एक हप्ता अवधि थप भएको थियो । यद्यपी पछिल्लो पटक थपिएको समय पनि आजै (बिहीबार) सकिँदै छ । 

यता त्रिवि विश्वविद्यालयलगायत ७ वटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदै छ ।

नेपाल संस्कृत, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि तथा वनविज्ञान, पूर्वाञ्चलका उपकुलपति, रजिष्टार र सेवा आयोगका पदाधिकारीका पद हुने भएको हो । 

यसैबीच उपकुलपति, रजिष्टार र रेक्टर बन्न धेरै प्राध्यापकहरुले दौडधुप गरिरहेका छन् । त्रिविका उपकुलपति तिर्थ खनियाँ दोहो-याउनको लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । 

खनियाँले केही दिन अगाडि मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूलाई त्रिविको उपकुलपतिमा दोहोर्याउन आग्रह गरेका थिए ।  

यसैगरी पूर्वएमालेबाट इञ्जिनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. राजेन्द्रध्वज जोशी, पूर्व सांसद तथा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष समेत रहेका प्रा.डा. गणेशमान गुरुङ, त्रिवि रजिष्टार डिल्ली उप्रेती, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन डा. अरुण सायमी र त्रिविका डा. खड्ग केसी उपकुलपतिका लागि दौडधुपमा छन् । 

त्यस्तै पूर्व माओवादीबाट राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा देवराज अधिकारी, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिविका प्रा.डा. सुधा त्रिपाठी र त्रिविका प्रा.डा रमेश भट्टराई उपकुलपतिको दौडमा छन् । दौडमा रहेका प्रध्यापकहरु सकेसम्म त्रिवि विश्वविद्यालय नभए अरु विश्वविद्यालयलमा भएपनि जानका निम्ति लविङ्गमा लागेका  छन् । 

यता उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदन लुकाउदै सरकारले विभिन्न विश्वविद्यालयहरुमा पदाधिकारीहरु परम्परागत शैलीमा नियुक्त गर्ने तयारी गरेको छ । 

तर, पूर्व उपकुलपतिहरुले विश्वविद्यालयहरुलाई प्राज्ञिक क्षेत्रका रुपमा विकास गरी अझ व्यवस्थित गर्न, भागवण्डाको राजनीतिबाट टाढा राखी, सक्षम र योग्य व्यक्तिहरु नियुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।    

‘अहिले त्रिविको समेत साख गिरेको अवस्थामा त्रिविलाई अझ विश्वासिलो र प्राज्ञिक कुञ्ज बनाउन योग्य व्यक्तिको छनोट हुन जरुरी छ,’ पूर्व उपकुलपति केदार भक्त माथेमा भन्छन्, ‘अरु विश्व विद्यालयहरुलाई विश्व विद्यालयको रुपमा विकास गर्नपनि योग्य र सक्षम व्यक्तिको जरुरी छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्