प्रभु साहले राजीनामा दिनुको रहस्य



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएपछि पार्टीभित्र विभिन्न शंका र चासो उब्जिएको छ भने कार्यकर्ता पङ्तिमा निराशा तथा आक्रोश बढेको छ ।

नेतृत्व तहबाट निरन्तर गलत निर्णय र असहयोग भएको भन्दै काम गर्ने वातावरण नभएको ठहर गर्दै साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा दिएका थिए । उनको यस निर्णयमा नेकपा प्रदेश सचिव सुमनराज प्याकुरेल समर्थन जनाउदै भने, ‘पार्टीको नीति र कार्यविभाजन लगायतको विषयमा भन्दा पनि साहजीको असन्तुष्टि प्रदेश अध्यक्षको भुमिका निर्वाह गर्ने बखत आउने अवरोधमा थियो । साहजीको यस निर्णयमा मेरो समर्थन मात्र नभइ प्रदेश पदाधिकारीहरुकै साझा धारणाको रुपमा बुझ्दा हुन्छ ।’

नेकपा अध्यक्ष दाहाल निकट स्रोतका अनुसार दाहालले उक्त राजिनामा स्वीकृत गर्ने मनस्थितिमा नरहेको र साहलाई पुनः जिम्मेवारीमा फर्काउन प्रयासरत रहेका छन् । दाहालको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्डका लागि प्रभु साहको राजीनामा अचानक भएको घटनाको रुपमा रह्यो । अध्यक्षले त राजीनामा बुझ्न पनि मान्नुभएको थिएन् । उहाँले राजीनामा स्वीकृत नगर्ने र प्रदेशमा निर्वाध रुपमा काम गर्ने वातावरण प्रदान गर्ने हिसाबले तयारी गर्दै हुनुहुन्छ ।’ साहको राजिनामा भने अझै स्वीकृत भइसकेको छैन ।

साहले राजीनामा बुझाएपछि मुलतः प्रदेश नम्बर २ का कार्यकर्ताहरुले प्रतिक्रिया जनाउदै यस कार्यलाई दुखद बताउदै नेतृत्व तहलाई सोचविचार गर्न आग्रह गरेका छन् । रौतहट जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य युवराज भट्टराईका लागि यो घटना अविश्निय छ । 

भट्टराईले भने, ‘यो खबर सुन्दा विश्वास लागेको थिएन तर हो रहेछ । प्रभुजी जस्तो नेतालाई पनि पार्टी नेतृत्वले काम गर्ने वातावारण दिन सक्दैन भने पार्टी र हामी कार्यकर्ता कसरी क्रान्तिलाई अगाडि बढाउन सक्छौ, पार्टीले बुझ्न जरुरी छ ।’

नेकपा बारा जिल्ला सदस्य मुकेश साहले यसले समग्रमा पार्टीलाई नै अहित गर्ने बताउछन् । सबै पक्षलाई समेटेर काम गर्ने नेता प्रभु साहलाई पार्टीभित्रकै नेताले घेराबन्दी गर्नुभन्दा दुखद केही हुन नसक्ने उनी बताउछन् । सामाजिक सञ्जालमा पनि यस वियषमा नेता कार्यकर्ता तथा सर्वसाधारणले आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् ।

यसकारण आएको थियो राजिनामा

पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रदेश अध्यक्षको रुपमा आफुले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीका कारण साहले अध्यक्ष पदबाट राजीनामा दिएको बुझिएको छ ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर, पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउने उद्देश्यले आफु स्थायी कमिटीमा नपरे पनि मौन समर्थन गरेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भुमिका विहीन बनाइएको थियो । प्रदेश सदस्यहरुको चयन गरिदा अध्यक्ष साहसँग सल्लाहसमेत नगरी आफुखुशी नाम सार्वजनिक गरिएको साह निकट स्रोतको भनाइ छ ।

प्रदेश अध्यक्षको रुपमा उनले जिल्ला कमिटी गठन, विभिन्न कार्यक्रम तथा प्रशिक्षणलगायतका काममा पार्टीका नेताहरुले असहयोग गरेपछि उनले राजीनामा दिएका हुन् । सर्वसम्मत ढङ्गबाट जिल्ला कमिटी गठन गर्दासमेत शपथ ग्रहण अगाडि बढ्न सकेको छैन । स्रोतका अनुसार नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको विरोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रोक्न निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्