प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्



काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट नगरी स्वदेश फर्किएका छन् । जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए ।

प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाए । तर जयशंकर प्रचण्ड भेट्न उनको निवास खुमलटार नगई स्वदेश फर्किएका हुन् । 

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् । 

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए भने प्रधानमन्त्रीलाई भेट्न बुधबार नै बालुवाटार पुगेका थिए । 

प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललेसमेत जयशंकरसँग होटलमा गएर भेट  गरेनन् । उनलेसमेत जयशंकरलाई भेट गर्न निवासमै बोलाएका थिए । 

भारतीय दूतावासले भने एउटै पार्टीका नेतासँग एक्लाएक्लै भेट गर्ने नीति नै नभएको बताएको छ । नेकपा अध्यक्ष एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेपछि पार्टीका अन्य नेतासँग भेट नभएको  दूतावास स्रोतको भनाइ छ । 

दूतावासका अनुसार पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पार्टीको समूहमै होटल पुगेपछि भेटवार्ता भएको हो । प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालसँग छुट्टै भेट्ने कार्यक्रम नै नभएको दूतावास स्रोतको दाबी छ । अन्नपूर्ण पोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्