रोकिएन विषालु सर्पको तस्करी : सिरहा र सप्तरीका सपेराहरु विषालु सर्प समात्न व्यस्त 



दिनेश्वर गुप्ता

लहान : बढ्दो गर्मीसँगै मधेशमामा अवैधरुपमा विषालु सर्पको चोरी निकासी बढ्न थालेको छ । योसँगै विषालु सर्प लोप हुने अवस्थामा पुगेको छ ।  

सर्पको टोकाइबाट बच्न प्रयोग गरिने भ्याक्सिन एन्टीस्नेक भेनम बनाउनका लागि विषालु सर्पको प्रयोग गरिने भएकोले यसको अवैध चोरी निकासी बढ्न गएको र यस्तो अवैध चोरी निकासी कार्यलाई नियन्त्रण गर्नु कुनै निकाय नभएकोले यसमा तीव्रता आएको डा.दीपेन्द्र यादव बताउछन् । गर्मीमा यस्ता सर्पहरु व्यापक रुपमा बाहिर निस्किने गर्छ । 

सर्पको छालाबाट बहुमुल्य सामानहरु बन्ने, विषबाट एन्टिस्नेक भेनम बन्ने र त्यसको मासुबाट क्षयरोगको औषधि समेत बन्ने भएकोले यसको चोरी निकासी बढ्न थालेको जानकार दिनेश बताउछन् । भारतमा एउटा विषालु सर्पको ५ हजार रुपैयाँसम्म पर्ने भएकोले आफूहरु नेपालबाट विषालु सर्पका लागि भारतको कोलकतास्थित विगुल साइन्स मेडिकल कम्पनी, पश्चिम बंगलाको सिलुगुडी र वागडोगरा तथा विहारको पटनासम्म लगेर बेच्ने गरेको नाम नछाप्ने सर्तमा लहानमा सर्पको खेल देखाउने एक सपेरा बताउछन् ।

सिरहा र सप्तरीमा अहिले सपेराहरु बिन बजाइ गोमन र करेतजस्ता विषालु सर्प समात्न व्यस्त छन् । यस विषयमा प्रहरी प्रशासन मौन रहेतापनि सिरहाको लहान बस्दै आएका फकिर आलम यो पेशा आफ्नो पुख्र्यौली पेशा भएको बताउछन् । मधेशमा गर्मी सुरु भएपछि सर्पको विगविगी बढेको छ र यही समयमा हामीले बढी सर्प समात्न पाएको उनी बताउछन् । 

उनीहरुका अनुसार वर्षाको समय लाग्ने वित्तिकै विषालु सर्पहरु दुलोबाट बाहिर आएर घरभित्र प्रवेश गर्ने गरेको छ । विषालु सर्प समात्नु जोखिमपुर्ण काम भएपनि अशिक्षा, वेरोजगारी र रोजगारीको लागि हामीले यस्तो अवस्थामा विषालु सर्पलाई समात्ने गर्छौ ।  

नासिर मियाँले विषालु सर्पको अवैध चोरी निकासीलाई नेपालको कानूनले प्रतिवन्ध लगाएको छ भन्ने सुनेका छौं तर आजसम्म कही कतैबाट रोकटोक नभएपछि हामीले निर्वाध रुपमा यसको व्यापार गरी जीविका चलाइरहेको बताउँछन् । सपेराहरुको भनाइप्रति असहमति जनाउँदै नेपाल तथा भारतीय सीमाक्षेत्रमा रहेका सुरक्षा दलले प्रहरीहरुले सपेराहरु साँपका खेल देखाउन भारत प्रवेश गर्दछन् र आफ्नो यो प्रक्रियालाई निरन्तरता दिँदै उनीहरु अगाडि बढ्ने गर्दछन् र यसलाई हामी असहज रुपमा लिदैनौ भन्छन् । 

विषालु सर्पको चोरी निकासी बढ्दै गएको कारण अहिले लहान तथा सिरहा अस्पतालमा विषालु सर्पका टोकाइबाट पीडित हुने बिरामीको संख्या घटेको चिकित्सकहरु बताउछन् । 

सर्पको तस्करीमा लाग्दा कानुन लाग्छ भन्नेबारे अनभिज्ञता प्रकट गर्दै आइरहेका केही सपेराहरुलाई आजसम्म न त नेपाल प्रहरीले न त भारत प्रहरीले नै समातेका छन् भने हामीले यस कार्यलाई कसरी अवैध हो भन्ने ? उनीहरु प्रतिप्रश्न गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्