धनगढीका मेयर वड विरुद्ध सांसदहरुकाे उजुरी



धनगढी: प्रदेश ७ को राजधानी धनगढीबाट सार्ने प्रस्तावपछि भएको आन्दोलनमा प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका उप–महानगरपालिकाका मेयर नृप वड विरुद्ध सासंदहरुले नै उजुरी हालेका छन्। मेयर वडले धनगढी बाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा बस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए। 

 

उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए। मेयरको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै प्रदेशसभा सदस्यहरुले नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्। प्रदेशसभा सदस्यहरु हर्क वहादुर कुँवर, लिलाधर भट्ट, नन्दवहादुर साउँद, देवकी मल्ल, अक्कल वहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिंह बोहरा लगायतका २२ जना सांसदले मेयर विरुद्ध उजूरी हालेका हुन्। 

 

उजुरीमा दंगा भड्काउने अभिव्यक्ति दिएकाले कानुनी कारबाहीको माग गरिएको छ। मेयर वडले आक्रोशमा गलत शब्द बोलेको स्विकार गरिसकेका छन् । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर वडले आक्रोशमा गलत शब्द बोलेको बताएका हुन् । प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संलग्नता रहेको आरोप मेयर वडले लगाउदै आएका छन् ।

उजुरीमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको पिछा गर्न संदिग्ध ब्यक्तिहरु देखिन थालेको, निगरानी गर्न थालेको र धम्की आउन थालेकाले सुरक्षाको माग पनि गरिएको छ । उनीहरुले मेयर ओडले बोलेको अडियो, भिडियो र पत्रपत्रिकाका कटिङ प्रमाणका रुपमा जिल्ला प्रशासनमा पेश गरेका छन् ।  तर उनले आफु गोदावरी राजधानी सार्ने प्रस्तावको जहिले पनि विरोधमै रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । 


हेर्नुहाेस् उजुरी

प्रतिक्रिया दिनुहोस्