देउवासमक्ष चोलेन्द्रशमशेरले कम्युनिस्ट सक्छु भनेपछि…



काठमाडौं : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछि प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश चोलेन्द्रशमशेर राणालाई न्यायालयको नेतृत्वमा नलैजान नेकपा र सरकारमाथि दबाब परेको छ । 

बिचौलियाहरू उपेन्द्र महतोदेखि आङछिरिङ शेर्पा, एनसेलका सतीशलाल आचार्यको टेलिकम र हवाई माफियाहरू चोलेन्द्रशमशेर राणामार्फत सर्वोच्च अदालतबाट आफ्ना स्वार्थका मुद्दा आफूअनुकूल फैसला गराउन उनलाई नियुक्ति गर्न लागेका छन् । 

सोमबारको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गरेन । परिषद्को बैठक पुनः मंसिर २२ का लागि सरेको छ ।

आगामी पुस १६ मा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अवकाशपछि राणालाई प्रधानन्यायाधीश बनाउने तयारीमा नेकपा र सरकार छ । सुशीला कार्कीको महाभियोग प्रकरणमा धोका दिएकाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राणासँग रुष्ट थिए । 

उनी राणालाई प्रधानन्यायाधीश बनाउने पक्षमा सकारात्मक नभएको सुइँको पाएपछि उनी मंसिर १६ गते बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनीसँग क्षमा माग्दै आफूलाई संवैधानिक परिषद्को मंसिर १७ को बैठकमा सिफारिस गर्न अनुरोध गरेका थिए । 

राणाले देउवासँग भनेका थिए, ‘म त कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ । मलाई अहिले प्रधानन्यायाधीश बनाउन सहयोग गर्नुभएन भने कम्युनिस्टहरूले निरन्तर न्यायालयको नेतृत्व गर्नेछन्, कम्युनिस्टहरूले देश त कब्जा गरिसके, न्यायालयमा पनि उनीहरूलाई कब्जा गर्न नदिऔं, म प्रधानन्यायाधीश भएपछि कांग्रेसका लागि काम गर्नेछु । तसर्थ, भोलिको संवैधानिक परिषद् बैठकमा गएर मेरो नाम सिफारिसमा सहयोग गर्नुस् ।’ 

राणाको भनाइ उद्धृत गर्दै देउवानिकट स्रोतले बुधबारलाई बताएअनुसार उनले कम्युनिस्टहरूको दुई तिहाइ सरकारलाई असफल पार्ने कसम खाएर देउवा निवासमा वाचाबन्धनपछि मात्र देउवा विगतमा उनले दिएको धोका बिर्सिएर परिषद् बैठकमा पुगेका थिए ।

१६ गते बेलुकासम्म केन्द्रीय समिति बैठक भएकाले संवैधानिक परिषद् बैठकमा देउवा जाने पक्षमा थिएनन् । तर, चोलेन्द्र राणाको अरण्यरोदनपछि उनी हतारहतार परिषद् बैठकमा पुगेका थिए । नेकपा सरकारको कार्यकाल अब चार वर्षभन्दा केही बढी छ । राणा पनि चार वर्ष नै प्रधानन्यायाधीश हुनेछन् । त्यतिबेलासम्म नेकपाको दुई तिहाइको सरकारलाई असफल पार्ने विदेशी शक्तिले प्रधानन्यायाधीश राणालाई दुरूपयोग गर्ने देखिएको छ ।

बिचौलियाहरू जसरी पनि उनलाई प्रधानन्यायाधीश बनाउने चलखेलमा छन् । नेकपाले उपेन्द्र महतो, आङछिरिङ शेर्पा, सतीशलाल आचार्य, मीनबहादुर गुरुङहरूजस्ता बिचौलियाको प्रभावमा उनलाई प्रधानन्यायाधीश बनाए त्यो नेकपाका लागि त अपूरणीय क्षति हुने नै छ, मुलुकका लागि समेत दुर्भाग्यपूर्ण हुने कानुनविद्हरू बताउँछन् ।

चोलेन्द्रशमशेर भ्रष्टाचारीमात्र होइन, उनी लोकतन्त्रका विरोधीसमेत हुन् भन्ने कुरा उनले गरेका फैसलाहरूबाट पनि पुष्टि हुन्छ । उनले उच्च अदालतदेखि विशेष अदालतमा हुँदा गरेका भ्रष्टाचारबारे लेखिसाध्य नै छैन । भ्रष्टाचारीहरूबाट घुस लिँदै सफाइ दिने काम उनले गरे । 

चोलेन्द्रशमशेर राणा लोकतन्त्रकै विरुद्ध विदेशी इसारामा चल्ने मानिस हुन् भन्ने कुरा उनले राजा वीरेन्द्रको छाउनीको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो भनेर गरेको फैसला नै काफी छ ।

भोलिका दिनमा विदेशी शक्ति विशेषगरी भारत २ नम्बर प्रदेशलाई विवादमा ल्याउन खोजिरहेको छ । २ नम्बर प्रदेशलाई स्वायत्त घोषणा गराउने र त्यो मुद्दा सर्वोच्च अदालतमा पुर्‍याउने अनि चोलेन्द्रशमशेर राणाबाट संवैधानिक इजलासमा कनिष्ठ र सेटिङवाला न्यायाधीशलाई राखी मान्यता दिने खेलमा उनी गोटी नबन्लान् भन्ने के ग्यारेन्टी छ ? दुई तिहाइको सरकारले त्यतिबेला के गर्न सक्छ ? 

उनको विगतले यही बताउँछ । 

अदालतसम्ममा गरेका फैसला हेर्दा उनले त्यसो नगर्लान् भन्ने ग्यारेन्टी छैन । एक वरिष्ठ अधिवक्ता भन्छन्, ‘स्व. राजा वीरेन्द्र शाहको नेपाल सरकारका नाममा गइसकेको जग्गा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो भनेर फैसला गर्नेले भोलि २ नम्बर प्रदेश स्वायत्त भनेर फैसला नगर्लान् भन्न सकिन्छ ?

बुधबार साप्ताहिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्