कांग्रेस कार्यालयमा नेवि संघको धर्ना



काठमाडौं : नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले बिहीबार माउ पार्टी नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा धर्ना दिएका छन् । अवैधानिक रुपमा केन्द्रीय समितिको म्याद थपेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

 

उनीहरुले पार्टी केन्द्रीय समितिको बैठक हुन लागेको समय पारेर करिब दुई घण्टा धर्ना दिए । अधिवेशन गराउनुपर्नेमा अवैधानिक रुपमा कार्यसमितिको म्याद थप्दा संगठनका गतिविधिमा अवरोध पुगेको उनीहरुको भनाइ थियो । 

 

म्याद सकिइसकेको नेवि संघ कार्यसमितिलाई यसअघि पार्टीले आज १० गतेसम्मलाई कार्य सञ्चालन गर्न अनुमति दिएको थियो । नेवि संघको भविष्यबारे आजको बैठकले थप निर्णय गर्ने सम्भावना छ ।

 

पुरानै कार्यसमितिको म्याद नथप्न दबाब दिन नेवि संघ कार्यकर्ताले धर्ना दिएका हुन् । उनीहरुले केन्द्रीय समितिको बैठकमा सहभागी हुन कार्यालय पुगेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरुलाई विद्यार्थीहरुले ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्