वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा



काठमाडौं: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो । 

जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कार्यवहाक प्रधानमन्त्री प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे । बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । 

विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गरे । उनले सहुलियत कर्जा दिने विषयमा गम्भीर बन्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैको सहयोगको आवश्यकता रहेको बताए । “युवा स्वरोजगार, कृषि, पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ, त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ, यसतर्फ ध्यान पुगोस्”, पोखरेलले भने । 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती हाम्रासामु रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराए । उनले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब आलटाल गर्न खोज्ने बैंकलाई कारवाही गरिने चेतावनीसमेत दिए । 

पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा हाम्रोसामु अझै ठूलो चुनौती देखिएको उल्लेख गर्दै शिवाकोटीले विलासिता र महँगा गाडी, हीरा र सुन आयात नियन्त्रण गर्नुपर्ने बताए । उनले बुधबार मात्रै राष्ट्र बैंकले विदेश जानेको हकमा डलर सटही ५०० बाट २०० मा झारेको जानकारी दिए ।

उनका अनुसार हाल नेपालमा कर्जा लिनेको सङ्ख्या १३ लाख ३३ हजार र ५८ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए । 

बैंकको कूल सम्पत्ति रु दुई खर्ब चार अर्ब पुगेको जानकारी दिँदै उनले यस पटकको खुद नाफा रु एक अर्ब ९६ करोड रहेको उल्लेख गरे । आज सार्वजनिक विवरणानुसार वाणिज्य बैंकमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्