मापदण्डविपरीतका क्रसरको दादागिरी, स्थानीय तनावमा



मोरङको उर्लाबारी–१ मा मापदण्ड विपरित सञ्चालनमा रहेको क्रसर उद्योग ।

विराटनगर : मानव बस्तीका छेउमा सञ्चालन गरिएको मापदण्डविपरीतका क्रसरका कारण मोरङवासी तनावमा छन् । क्रसरका कारण बढेको प्रदूषणले उनीहरुको स्वास्थ्य पनि जोखिममा परेको छ । क्रसरको कानले सहनै नसक्ने आवाज अनि उडेको धुलोले सारै पीडा दिएको गुनासो मोरङको उर्लाबारी नगरपालिका १ का चन्द्र भट्टराईको छ । 

घर आसपासमा ठूलो आवाज त आउँछ नै, क्रसरबाट उड्ने धुलोका कारण उनी र उनको परिवार हैरान छ । क्रसरबाट निस्किने धुलो उनको भान्सासम्मै पुग्छ । यो समस्या भट्टराईको बस्तीका सबैले भोग्नुपर्छ । त्यहाँ सञ्चालित दुईवटा क्रसरका कारण बस्ती नै तनावमा छ ।

 

स्थानीय विज्ञान बड्तौलाले क्रसर मानवबस्तीबाट पर सार्न पटकपटक गरको आग्रह सञ्चालकले नमानेको बताए । उनले भने, ‘यहाँका क्रसर उद्योगले एकहिसाबले दादागिरी नै गरिरहेका छन् ।’ त्यस क्षेत्रमा सिंगो बस्ती  र विद्यालयसमेत जोखिममा छन् । उर्लाबारी १ मा पञ्चेश्वर क्रसर उद्योग र पूर्वेली क्रसर उद्योग सञ्चालनमा छन् । त्यहीं निर्माणाधीन अवस्थामा रहेका देवीस्थान मिनिरल्स क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् ।

 

क्रसरले सर्वसाधारणलाई त दुःख दिए नै, प्राकृतिक स्रोत साधनको चरम दोहन पनि गरिरहेको भट्टराईले बताए । दुईवटा क्रसरले चरम दोहन गरेर स्थानीय बासिन्दालाई समस्या पारिरहेका बेला थपिने अन्य दुईवटाले झन ठूलो तनाव दिने उनको भनाइ छ । उनका अनुसार एउटै वडामा मापदण्डविपरीतका चारवटा क्रसर उद्योग हुँदा सम्बन्धित निकाय भने तिनै क्रसर उद्योगलाई मलजल गरिरहेका छन् । सम्बन्धित निकायको सहयोगकै कारण क्रसर निर्बाध रुपमा मापदण्ड मिचेर चलिरहेको भट्टराईले बताए ।

स्थानीय बासिन्दाका अनुसार जनप्रतिनिधि, समाजका प्रतिष्ठित र गुन्डागर्दीको पृष्ठभूमि रहेकाहरुले मापदण्ड मिचेर लामो समयदेखि क्रसर उद्योग सञ्चालन गरिरहेका छन् । जनप्रतिनिधि र गुन्डागर्दीमा संलग्नकै लगानी रहेका कारण क्रसर उद्योग हटाउन पनि कहींबाट सहयोग नमिलेको स्थानीयको गुनासो छ । स्थानीयले क्रसर उद्योग हटाउन माग गर्दा सञ्चालकले धाकधम्की दिने गरेको गुनासो गरेका छन् ।

क्रसरका कारण आजित स्थानीयले वडा कार्यालय, नगरपालिलका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । उजुरीको सुनुवाइ नभएपछि उच्च अदालत विराटनगरमा रिट पनि दायर गरेका छन् । क्रसरका कारण मानव बस्तीसँगै दुईवटा विद्यालय पनि प्रभावित छन् । शारदा मावि र नुनसरी आधारभूत विद्यालयमा अध्यापन गराउन असहज भएको हो । शारदा मावि उर्लाबारीका प्राध्यानाध्यापक सूर्य दाहालका अनुसार क्रसरका कारण विद्यालयको पठनपाठनमा धेरै ठूलो असर गरिरहेको छ ।

 

ढुवानीका लागि कुद्ने टिपरका कारण झन ठूलो तनाव बेहोर्नुपरेको दाहालको भनाइ छ । स्थानीयका अनुसार क्रसरले खयरबारी, बिहीबारे, चपुरलगायतका बस्तीलाई असर गरिरहेको छ । क्रसरका कारण उड्ने धुलो र त्यहाँबाट निस्किने आवाजले बस्न पनि समस्या भइरहेको दाहालले बताए । 

भट्टराईले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसरले समस्या ल्याउन थालेको र हटाउन स्थानीय सरकारले अटेर गरेपछि उच्च अदालत विराटनगरमा रिट दायर गरिएको बताए । 

गोविन्द भट्टराई लगायतको समूहको पूर्वेली क्रसरमा, प्रकाश खड्गी लगायतको समूहको पञ्चेश्वर क्रसरमा, बवि राईको देवीस्थान मिनिरल्स क्रसरमा र उर्लाबारी ५ का वडासदस्य समेत रहेका सचिन शाक्यलगायतका समूहको सिद्धार्थ क्रसर उद्योगमा लगानी छ । जनप्रतिनिधि भने पनि शाक्य विभिन्न अपराधिक घटनामा विवादित बन्दै आएका व्यक्ति हुन् ।

 

भट्टराई पनि गुन्डागर्दी पृष्ठभूमिकै रहेको स्थानीयको भनाइ छ । ‘उद्योगमा लगानी गर्नेहरु जनप्रतिनिधि, गुन्डागर्दीमा संलग्न र समाजकै प्रतिष्ठित व्यक्तिहरु छन्,’ एक स्थानीयले भने, ‘उनीहरुलाई कसैले छुन पनि सक्दैनन् ।’ 

चारवटै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहे पनि नियमनकारी निकाय भने मौन छन् । सार्वजनिक स्थल, खोला र मानव बस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यसलाई मिचेर क्रसर सञ्चालन गरिएको छ । 

 

स्थानीयले नगरपालिका कार्यालयमा उजुरी दिएपछि भने सञ्चालकले क्रसर सञ्चालन नभई प्लटिङका लागि माटो पुर्नेमात्र भनी सहमति गरेका थिए । तर अहिले धमाधम क्रसर सञ्चालन र स्थापनाको काम भइरहेको छ । पञ्चेश्वर क्रसर उद्योग छेउमै जनप्रतिनिधि शाक्यको क्रसर स्थापनाका लागि काम भइरहेको छ । ह्युम पाइप तथा कल्भर्ट निर्माण गर्ने भन्दै क्रसर उद्योग सञ्चालनको तयारी भइरहेको हो । 

पुस १९ गते स्थानीय नुनसरी आधारभूत विद्यालयमा भएको अभिभावक भेलाको निर्णयले पञ्चेश्वर क्रसर उद्योग, देवीस्थान मिनिरल्स क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योगले विद्यालयलाई असर पुर्याएको भन्दै बन्द गर्न सम्बन्धित निकायमा निवेदन समेत दिइएको छ । विद्यालयका प्रधानाध्यापक भोलानाथ निरौलाले स्वतःस्फुर्त रुपमा अभिभावक बसेर निर्णय गरेको जानकारी दिए । यो निर्णयपछि आफू समेत त्रसित भएर बसिरहनुपरेको उनको भनाइ छ ।  

समाजका बोलवाला र नगरमा समेत प्रत्यक्ष प्रभाव राख्नेहरुले उद्योग सञ्चालन गरिरहेकोले भोलि आफू र विद्यालयमाथि असर पर्ने हो कि भन्ने चिन्ता बढेको निरौलाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार क्रसर उद्योगको बारेमा खुलेर विरोध गर्ने अवस्थासमेत छैन ।

 

क्रसर उद्योग सञ्चालनका लागि स्थानीय तहले समेत सर्वसाधारणको गुनासोलाई बेवास्ता गर्दै सिफारिस दिइरहेका छन् । क्रसर उद्योग सञ्चालनका लागि माथिल्लो निकायबाटै लाइसेन्स बनाएर सञ्चालकहरु आउने गर्छन् । अनुमति दिने निकायले बिनाअनुगमन हचुवाका भरमा स्वीकृति दिने गरेको पाइएको उर्लाबारीका एक जनप्रतिनिधिले बताए । 

 

राजमार्गबाट ५ सय मिटर, खोला किनारबाट ५ सय मिटर, हाई टेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा क्रसर उद्योग रहनुपर्ने सरकारी मापदण्ड छ । 

क्रसरका सञ्चालकमध्येका गोविन्द भट्टराईले व्यस्त रहेको भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् । अन्य सञ्चालकसँग भने सम्पर्क हुन सकेन । उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले स्थानीयले क्रसरका बारेमा लिखित उजुरी गरेको बताइन् । क्रसरका कारण स्थानीय प्रभावित भएको बताउँदै उनले मेयर खड्ग फागोले चासो नदेखाउँदा आवश्यक कारबाही गर्न असहज भएको जानकारी दिइन । मेयर फागोसँग भने सम्पर्क हुन सकेन । 

प्रतिक्रिया दिनुहोस्