स्वास्थ्य राज्यमन्त्री यादवकै गाउँमा सिटामोल छैन



धनुषा: संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रप्रसाद यादवको गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोल सहित औषधिको चरम अभाव भएको छ ।

स्वास्थ्य राज्यमन्त्री यादवको गृहजिल्ला महोत्तरीको सम्सी गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको हो । बिरामीका लागि निःशुल्क उपलब्ध गराइने सिटामोल, जीवनजल र एन्टिवायोटिक जस्ता अत्यावश्यक औषधी सकिएको दुई महिना भइसकेको कार्यालय प्रमुख अमित रन्जनले बताए ।

स्वास्थ्य केन्द्रमा दिनहुँ ७० देखि ८० जना बिरामी आउने गरे पनि औषधि अभाव र व्यवस्थापनको कमजोरिका कारण उपचार सेवाबाट बञ्चित हुनुपरेको छ । कार्यालयमा १३ जना कर्मचारीको दरबन्दी भएपनि ६ जना मात्र नियमित आउने गरेका छन् ।  

स्वास्थ्य राज्यमन्त्री यादवले स्वास्थ्य केन्द्रका लागि बजेट र कर्मचारी सरकारले व्यवस्थापन गरिदिएको भन्दै औषधी खरिदको जिम्मा भने गाउँपालिकाकै भएको बताए । औषधी खरिदका लागि ३२ लाख रुपैयाँ गाउँपालिकालाई पठाएको यादवले बताए । 

प्रतिक्रिया दिनुहोस्