झापाका सरकारी कार्यालय मादकपदार्थका अखडा



झापा: झापा  जिल्ला अदालत झापा परिसरको पछिल्लो भागमा बाक्लो झाडी र जंगल जस्तै छ, त्यसको वरपर भित्तामै टाँसिएको अवस्थामा रक्सीका खाली बोतल झरपस्ट देखिन्छ । अदालत नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको पछाडि पनि एकै ठाउँमा थुपारिएर राखिएका रक्सीका बोतल सजिलै देख्न सकिन्छ ।

अदालत र कोष तथा लेखा नियन्त्रण कार्यालयको परिसरभित्र मात्रै होइन, मालपोत, हुलाक, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र परिवार नियोजन संघलगायत कार्यालय परिसरमा पनि रक्सीका खाली बोतल थुप्रिएको त्यहाँ पुग्ने जोसुकैले पनि सजिलै देख्न सक्छन् । झापा सदरमुकाम चन्द्रगढीस्थित अधिकांश सरकारी कार्यालय परिसरमा रक्सीका खाली बोतल थुपारिएको अवस्थामा भेटिएका छन् । 

प्रायः सबैजसो कार्यालय प्रमुख र कर्मचारीहरूले आफूहरू कार्यालय परिसरमा रक्सी सेवन नगरेको र आफूभन्दा पहिलाका कर्मचारीले सेवन गरेर खाली बोतल नहटाएको जिकिर गरेका छन् । अदालतका स्रेस्तादार दुर्गाप्रसाद खनालले भने, ‘हामीले होइन, कसैले सेवन गरेर हाम्रो परिसरमा ल्याएर फालेको हुनुपर्छ ।’ तर, अदालतमा प्रहरीको सुरक्षा छ भने कार्यालयको चारैतिर पर्खाल लगाइएको छ । हुलाकका कार्यालय प्रमुख दामोदर घिमिरेले समेत आफू र आफ्नो मातहतका कर्मचारी कसैले पनि रक्सी सेवन नगर्ने भन्दै धेरै समयदेखि आफ्नो कार्यालयको छतमा त्यस्ता खाली बोतल रहेको हुन सक्ने बताए ।

जोकोहीले राखेकोे भए पनि छानबिन गरी त्यस्तो व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा पनि भर्खरै सेवन गरेर फालेको देखिने वाइन र रक्सीका खाली बोतल फेला परेका छन् । त्यसलाई दृश्यमा कैद गर्न थालेपछि प्रमुख कार्यालय छोडेर अन्यत्र लागेका थिए ।

उता, मालपोत कार्यालय परिसरमा पनि रक्सीका दर्जनौं खाली बोतल यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएको छ । कार्यालय प्रमुख जर्नादन भट्टराईले यस विषयमा बोल्न चाहेनन् । भट्टराईको निवास कार्यलयकै माथिल्लो भागमा छ । हरेक दिनजसो उनी निवासमै अन्य व्यक्तिलाई बोलाएर रक्सी सेवन गर्ने गरेको कर्मचारी स्रोतले जनाएको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्