जुत्ता प्रहारका अन्तर्य



काठमाडौं : पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा प्रमुख अतिथिको भूमिका वहन गरिरहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई निशाना बनाई फागुन १८ गते जुत्ता प्रहार भयो। यस्तो अवाञ्छनीय कार्य गर्ने युवा माओवादी विद्रोहकालमा सैनिक कारबाहीमा परेर निधन भएका माओवादी कार्यकर्ता मुन तिरुवाका पुत्र रतन हुन्। उनी विप्लवको नेकपामा आबद्ध छन्। इन्जिनियरिङमा डिप्लोमा तह उत्तीर्ण तिरुवाले प्रचण्डले वर्ग–संघर्षबारेमा दिएको अभिव्यक्तिप्रति आक्रोशित भई जुत्ता प्रहार गरेको मनसाय व्यक्त गरेका छन्।

प्रचण्डमाथि भएको यस्तो ताडना पहिलो होइन। २०६९ सालमा पदम कुँवरले प्रचण्डलाई भृकुटीमण्डपमा आयोजित एक चियापान समारोहमा झापड हानेका थिए। उनी घायल त भएनन्, तर चस्मा फुटेको थियो। केही वर्षयता यस्ता क्रियाकलाप भइरहेका छन्। पूर्वप्रधानमन्त्री तथा सन्त राजनीतिज्ञ सुुशील कोइरालालाई सन् २०१२ सेप्टेम्बरमा एकजना कार्यकर्ताले आक्रमण गरेका थिए। त्यसैगरी सुनसरीमा सन् २०११ जनवरीमा झलनाथ खनाललाई पनि देवप्रसाद रेग्मीले थप्पड लगाएका थिए।

यस्तो स्थिति छिमेकी राष्ट्र भारत तथा चीनका राजनीतिज्ञले पनि सामना गरेका छन्। पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई २६ नोभेम्बर २००९ मा एक राजनीतिक जमघटलाई सम्बोधन गर्दागर्दै अहमदाबादमा पद–पोस प्रहार गरिएको थियो, तर उनलाई लागेन। त्यसै वर्षको फेब्रुअरी २ मा चिनियाँ प्रधानमन्त्री विन जियाबाओलाई लन्डनमा एक जर्मन नागरिक मार्टिन जहान्केले पनि चप्पल प्रहार गरेका थिए।

एसियामा मात्र यस्तो परिस्थिति उत्पन्न भएको होइन; १४ अक्टोबर २००८ मा प्रेसिडेन्ट जर्ज बुसलाई इराकमा पत्रकार मुन्ताधार अलजायदीले पाउपोस प्रहार गरेका थिए। बुसले त्यो प्रहार छलेका थिए। जुत्ता प्रहार गर्ने पत्रकार जायदी इराकमा अति नै लोकप्रिय भए। कतिसम्म भने धेरै युवतीले उनीसित विवाह गर्ने प्रस्ताव गरेका थिए। यस्तो उच्छृंखलता पाकिस्तान, बेलायत, अमेरिका, अस्ट्रेलिया, नर्वे, जर्मनी, ताइवान तथा क्यानडामा पनि भएका छन्।

राजनीतिज्ञ मात्र नभएर सामाजिक व्यक्तित्वले पनि यस्ता मार खेपेको पाइएको छ। सन् १९९८ मा ब्रसेल्समा बिल गेट्समाथि आलु चप प्रहार गरिएको थियो भने माइक्रोसफ्टका कार्यकारी अधिकृत स्टिब बाल्मरलाई अन्डा हानिएको थियो।

इतिहासमा यस्ता खालका मौखिक तथा भौतिक प्रहार भएका विभिन्न उदाहरण छन्। रामायणकालमा एकजना धोबीले एक रात बाहिर बिताएकी पत्नीलाई गृह प्रवेश गर्न दिएनन्। रामले जस्तो बाहिर गएकी पत्नीलाई आफूले स्वीकार नगर्ने कुरा उनले गरे। यो सुनेपछि सीतालाई रामले परित्याग गरेको प्रसंग रामायणमा पढ्न पाइन्छ।

त्यसैगरी महाभारतमा धृतराष्ट्र कृष्णदेखि अति नै रुष्ट भएको सिलसिला छ। धृतराष्ट ६० हजार हात्तीको बल भएका मानिस थिए। उनले कृष्णलाई अंकमाल गर्ने क्रममा उनको हत्या गर्ने योजना बनाएका थिए। यो कुरा कृष्णलाई थाहा थियो। उनले एउटा धातुको कृष्णजस्तो प्रतिमा धृतराष्ट्रसामु राखिदिए। धृतराष्ट्र केही देख्दैनथे। बलिष्ठ धृतराष्ट्रले अंकमाल गर्ने क्रममा त्यो प्रतिमा कच्याककुच्चुक भयो। यस्तै रोम साम्राज्यको समयमा रोमन बादशाह कन्स्टान्टाइन द्वितीयलाई सन् ३५९ मा भाषण गर्दागर्दै एक दर्शकले जुत्ता फ्याँकेका थिए।

सामान हुर्‍र्याउने परम्परा हाम्रो संस्कृतिमा पनि रहिआएको छ। नाटक या सर्कस हेर्दा राम्रो भएमा पैसा फ्याँक्ने अथवा नराम्रो भएमा हल्ला गर्ने या सानातिना वस्तु फ्याँक्ने अझै पनि गरिन्छ। विजय हासिल गरेर आएको खेलटोलीलाई फूलका गुच्छा बर्साउने अथवा अबिर–चामल छर्कने गरेको पनि देखिन्छ।

राजनीतिज्ञले आफूले गरेका प्रतिज्ञाबारेमा सधैं चनाखो हुनुपर्छ। कति प्रतिज्ञाको परिपूर्ति भयो यससम्बन्धी जानकारी बेलाबेलामा जनतालाई दिनुपर्छ। अमेरिकामा नियमित रूपमा राष्ट्रपति जनतासमक्ष आफ्ना भनाइ प्रस्तुत गर्छन्।

कसैमाथि कुनै सामान अफाल्नुको अर्थ सधैं नराम्रो हुँदैन। पश्चिमी मुलुकमा जुत्ता प्रहारलाई विगतमा राम्रा क्रियाकलापका रूपमा लिइन्थ्यो। विशेष गरेर बिहे समयमा जुत्ता बेहुला–बेहुलीतिर हान्ने चलन थियो। पछि चामल, फूल आदि बर्साउने चलन आयो। नेपालमा पनि चामल, फूलले जन्ती पर्सिने र विशेष गरेर बेहुलालाई हान्ने चलन विद्यमान छ।

जुत्ताले हान्नु आक्रोशको परिचय हो। खुट्टामा प्रयोग गरिने हुनाले यसलाई सबैभन्दा तुच्छ मानिन्छ। त्यसकारण कसैसँग रिस उठ्यो भन्ने उसको मानमर्दन गर्ने यो प्रभावकारी माध्यम हो। जुत्ता ताडनालाई बहुधा अवलम्बन गरेको देखिन्छ। बेलायतमा रिस उठेपछि कुखुराको अन्डाले हिर्काउनु साधारण मानिन्थ्यो तर पछि अन्डा सीमित रूपमा प्राप्त भएर रासन हुन थालेपछि यो परिपाटी अन्त्य भएको थियो। तर पछि यसको पुनरावृत्ति भयो र सन् १९७० मा बेलायतका प्रधानमन्त्री विल्सन यसको सिकार भएका थिए।

राजनीतिमा चित्त नबुझेपछि प्रदर्शन गरिन्छ। प्रदर्शन भनेको आफूलाई मन नपरेको वस्तुलाई रोक्न नसकेपछि गरिने विरोध, अस्वीकारोक्ति तथा असन्तोषको अभिव्यक्ति अर्थात् उद्घोष हो। यस्तो परिदृश्य विभिन्न क्षेत्रमा प्रकट भएको देखिन्छ र राजनीतिमा यो अधिक मात्रामा प्रयोग भएको देख्न पाइन्छ। यस क्रममा प्रहारजन्य क्रियाकलाप राजनीतिक सम्प्रेषणको प्रतीक हुन जान्छ। यस्ता खालका क्रियाकलाप नराम्रो घटनाक्रमको समाप्ति होस् भन्ने नै हो।

जुत्ता प्रहारपछि धेरैजसो प्रहारकर्तालाई अधिकांश रूपमा सामान्य सोधपुछ गरेर छाड्ने गरिएको छ। राष्ट्रपति बुसलाई प्रहार गर्ने जायदीलाई पहिले सात वर्षको सजाय सुनाइए पनि पछि यो एक वर्षमा घटाइयो। तर पछि एक वर्षभन्दा कम समयमै उनलाई रिहा गरियो।

पाउ–पोस प्रहारपछि विभिन्न नेताले विभिन्न रूपमा प्रतिक्रिया व्यक्त गरेका छन्। चीनका प्रधानमन्त्री विन जियाबाओलाई बेलायत भ्रमणका क्रममा एक जर्मन नागरिकले पाउ–पोस प्रहार गरेपछि यस घटनाले चीन र बेलायतबीचको सम्बन्धमा आँच नआउने अभिव्यक्ति दिएका थिए। त्यसैगरी भारतका राहुल गान्धीमाथि २३ जनवरी २०१२ मा देहरादुनमा भएको पाउ–पोस प्रहारमा राहुलले आफू पयर–पोस प्रहारदेखि डराएर भाग्ने मानिस नभएको अवगत गराएका थिए। महात्मा गान्धीले त कसैले दाहिने गालामा प्रहार गर्‍यो भने देब्रे गाला थापिदिनु भनेका छन्।

चरण–पोस प्रहारका सिकार सन्त राजनीतिज्ञदेखि बाटो बिराएका राजनीतिज्ञ पनि भएका छन्। उदाहरणका लागि सुशील कोइराला निःस्वार्थ राजनीति गर्दथे। उनीसित पाँचवटा मोबाइल मात्र थियो। तर प्रचण्डलाई साम्यवादी र त्यो पनि माओवादी नेता भएर साम्यवादी चरित्रलाई परित्याग गरेर बुर्जुवा चरित्र धारण गरेको, ऐस–आरामको जिन्दगी बिताएको भन्दै आलोचना गरेको आवाज राजनीतिक नेपथ्यमा गुन्जिएको पाइन्छ। रतन तिरुवालाई उनको वर्ग–संघर्षसम्बन्धी धारणा मन नपरेर उनले आक्रोश व्यक्त गरे। तर दुवै नेताले कार्यकर्ताको आक्रोश सामना गर्नुपर्‍यो। यसबाट के थाहा हुन्छ भने मानिसको इमानदारीले मात्र होइन; बरु अन्य कारकतŒवले पनि आक्रोश उत्पन्न हुन भूमिका वहन गरेको हुन्छ। विशेषतः नेताहरूले जनतालाई बाँडेको सपना र ती सपनाले साकार रूप नलिईकनै नेताहरूमा आएको विचलन देखेर पनि रोष प्रकट हुने गर्दछ।

राजनीतिज्ञले आफूले गरेका प्रतिज्ञाबारेमा सधैं चनाखो हुनुपर्छ। कति प्रतिज्ञाको परिपूर्ति भयो यससम्बन्धी जानकारी बेलाबेलामा जनतालाई दिनुपर्छ। अमेरिकामा नियमित रूपमा राष्ट्रपति जनतासमक्ष आफ्ना भनाइ प्रस्तुत गर्छन्। हाम्रो देशमा यो संस्कृति स्थापना हुन सकेको छैन। ‘जनतासित’ नामक कार्यक्रम बाबुराम भट्टराईले आरम्भ गरेका थिए र प्रधानमन्त्री ओलीले पनि यसलाई निरन्तरता दिएका छन्। तर यो त्यति सफल हुन सकेको छैन। विशेष गरेर ओली अधिक मात्रामा उखान–टुक्काको प्रयोग गर्ने र सोअनुरूप कार्यसम्पादन हुन नसकेकाले पनि यस्तो हुन गएको हो। यसले झन् वितृष्णा पैदा गर्छ। यस्ता वितृष्णाले पाउ–पोस प्रहारलाई बढोत्तरी दिन्छ। यो विचार आजको अन्नपूर्ण पोष्टमा डा. जीवराज पोखरेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्