कहिले बन्छ रानीपोखरी ?



काठमाडौं: तीन वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माण अझै टुंगो लाग्न सकेको छैन । निर्माण कम्पनी छनोट गर्न नसक्दा पोखरी पुनर्निर्माणको काम सुरु हुन नसकेको हो । पोखरी पुनर्निर्माणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले यसका लागि चौथोपटक बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

भूकम्पले क्षति पु¥याएकोे रानीपोखरी पुनर्निर्माणका लागि तीन वर्षअघि नै शिलान्यास गरिए पनि यस कार्यका लागि हालसम्म कुनै पनि निर्माण कम्पनी छनोट हुन सकेको छैन । तेस्रोपटक टेन्डर गर्दा सहभागी तीन निर्माण कम्पनीमध्ये दुई कम्पनीको प्रक्रिया र आवश्यक कागजात नपुगेको भन्दै टेन्डर स्वीकृत भएको थिएन । एउटा कम्पनीले आवश्यक प्रक्रिया पु¥याए पनि महानगरपालिकाले बोलपत्र आह्वान गरेभन्दा बढी रकम माग गरेपछि त्यसको प्रस्ताव पनि स्वीकृत हुन सकेको थिएन ।

महानगरपालिकाले पोखरी पुनर्निर्माणका लागि ११ करोड ६६ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको थियो । तर, टेन्डरमा सहभागी रवीनाथ कन्सट्रक्सनले ११ प्रतिशत रकम बढी मागेपछि महानगरपालिकाले त्यसको प्रस्ताव अस्वीकृत गरेको थियो । तोकिएको रकमभन्दा बढी रकम माग गरेकाले रवीनाथ कन्सट्रक्सनको प्रस्तावलाई स्वीकृत गर्न नसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

यसपटक पनि यस्तै अवस्था आए रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई नै दिइने सम्भावना रहेको महानगरले जनाएको छ । पोखरी पुनर्निर्माणको जिम्मा महानगरपालिकाको भए पनि पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरको पुनर्निर्माणको जिम्मा पुरातत्व विभागको हो ।

रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर पटक–पटक विवाद सिर्जना हुँदै आएको छ । पोखरीको ऐतिहासिक महŒवलाई जीवित राख्नुपर्ने मागसहित स्थानीयले विरोध गरेपछि यसअघि पोखरी वरपर सिमेन्ट प्रयोग गरी बनाइएको पर्खालसमेत भत्काउनुपर्ने अवस्था आएको थियो ।

पुरातत्व विभागले भने बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।

सो मन्दिरको पुनर्निर्माण गर्दा कुन शैलीमा गर्ने भन्ने विषयमा पनि लामो समयसम्म विवाद रहेको थियो । चौथोपटकको टेन्डरमा समेत पोखरी पुनर्निर्माणका लागि भरपर्दो निर्माण कम्पनी छनोट हुन नसके महानगरले दुई विकल्पमा जान सक्ने गरी अनौपचारिक छलफल थालेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्