नेकपाका सांसद मानन्धरले भने, ‘पार्टीको स्वीकृतिपछि मात्र राजीनामा दिन्छु’



काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रामवीर मानन्धरले पार्टीको आधिकारिक निर्णय आएपछि मात्र राजीनामा दिने बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद मानन्धरले राजीनामा स्वीकृति निवेदन पार्टीलाई दिइसकेको जानकारी दिए ।

पार्टीले भोलि (बुधबार) सम्ममा स्वीकृति दिएपछि आफूले सभामुखसमक्ष राजीनामा दिने उनले प्रस्ट पारेका छन्। उनले भने, ‘राजीनामा स्वीकृति गरिपाउँ भनेर सोमबारको सचिवालय बैठकमा निवेदन दिएको छु । पार्टीको भोलिसम्ममा आधिकारिक निर्णय आउला, त्यसपछि राजीनामा दिने नै हो।’

 

देशले विकास चाहेको बताउँदै उनले विकास निर्माणमा बामदेव गौतम संसदमा आएपछि धेरै सम्भावना हुने दावी गरे। 'जनताले चाहेको विकास हो', उनले भने, 'जनताको अपमान होइन सम्मानकै लागि उहाँलाई छोड्न लागेको हुँ।' पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता बामदेव गौतमसँग यसबारे कुरा भएको उनले बताए। उहाँहरुले 'साँच्चै छोड्न लाग्नु भएको हो?' भन्दै प्रश्न गरेको उनले बताए।  

 

गौतम देशलाई केही दिन सक्ने नेता भएकोले आफुले राजीनामा गरेर बाटो खाली गर्न लागेको उनको भनाई छ। 'उहाँको योगदान ठूलो छ,' उनले भने, 'गौतमलाई सम्मानस्वरुप छोड्न लागेको हुँ। काठमाडौं ७ सहजै जित्न सकिने ठाउँ हो।' आफ्नो चाहना विकास भएको भन्दै उनले कुनै लेनदेनमा संसद छोडन् नलागेको प्रष्टाए।

 

नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउन सांसद मानन्धरले राजीनामा दिन लागेका हुन्। यसअघि गौतमलाई डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विकल्प थालिएको हो।

प्रतिक्रिया दिनुहोस्