पप्पुको पुलमा दुर्घटना: पीडितलाई सुटुक्क पैसा



रौतहट : लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ  । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन्  ।

रौतहटको लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माणकै क्रममा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको पिल्लरमा ठोक्किएर दुर्घटनाग्रस्त डुंगा निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी । फाइल तस्बिर : कान्तिपुर

डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको छ ।

पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा.महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए । ‘अब पुलको काम पनि चाँडै सुरु गर्छौं भनेका छन्,’ उनले भने, ‘विगतमा जे भयो, अब काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि मानेका हौं ।’ साहकी आमा शान्तिदेवीको दुर्घटनामा निधन भएको थियो ।

वडाध्यक्ष भुवनेश्वरप्रसाद शाहीले पीडित परिवार र पप्पु कन्स्ट्रक्सनका प्रतिनिधिसँग मध्यस्थता गरेका थिए । उनकै रोहवरमा पीडितले पैसा बुझेका हुन् । ‘मृतक परिवारलाई ५ लाख दिनुस् भनेका हौं,’ वडाध्यक्ष शाहीले भने, ‘३ लाख ५ हजारमा सहमति भएपछि रकम बुझेका हुन् ।’ पुल निर्माणको काम सुरु भएपछि मृतक परिवारका सदस्यलाई त्यहीं रोजगारी दिने भनेर पनि पप्पुका आफन्तले फकाएको स्थानीयले बताएका छन् ।

गौर नगरपालिका–४ टिकुलिया घाटमा भदौ ९ गते राति भएको दुर्घटनामा गौर–४ की ४५ वर्षीया इन्दुदेवी, ६४ वर्षीया शान्तिदेवी, १० वर्षीया उष्माकुमारी पटेल, डुंगा सहचालक ओमप्रकाश चन्द्रवंशी र ४० वर्षीया रुनादेवीको मृत्यु भएको थियो । २४ जनाले भने पौडिएर ज्यान जोगाएका थिए ।

घटनापछि जिल्ला प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । पीडितका आफन्त र स्थानीय बासिन्दा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलका कारण दुर्घटना भएको भन्दै आक्रोशित भएका थिए । त्यसपछि दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले कन्स्ट्रक्सनका अध्यक्ष सुमितलाई सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि बेवास्ता गरेपछि एक साताअघि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनका आफन्त आएर पैसा बाँडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्